रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी
चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् ।
महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता मनिष झाले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको बताएका छन् ।
उनका अनुसार उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोकिएको छ । दाबी–विरोधमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि साँझ ६:३० बजेसम्म अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिने छ ।
प्रवक्ता झाले बेलुकी ७:३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताएका छन् । निर्वाचन आयोगका अनुसार मतदान सुरु भएको चार घण्टाभित्र मतदान कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
मतदान सकिएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ । दाबी–विरोधका आधारमा आवश्यक परिमार्जन गरी उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिने छ ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












