कारागारभित्र कैदीबन्दीबीच झडप, ७ जना घाइते



बाँके, १० असार । बाँकेको नौबस्तास्थित क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप हुँदा ७ जना घाइते भएका छन् । कारागारको बी–ब्लकमा भएको झडपपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कारागारको आन्तरिक प्रशासन व्यवस्थापनका लागि नियुक्त गरिने नाइके र चौकीदार पदको विषयलाई लिएर कैदीबन्दीबीच विवाद बढ्दै जाँदा झडप भएको बताइएको छ । नाइके तथा चौकीदार चयनको समय नजिकिँदै जाँदा विभिन्न समूहबीच शक्ति सङ्घर्ष बढेको र त्यसकै परिणामस्वरूप झडप भएको जनाइएको छ ।

झडपमा वर्तमान नाइके धर्मराज बुढासहित ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको भेरी अस्पतालमा तथा अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । उपचारपछि सबै घाइते कारागारमै फर्किएका छन् ।

घटनापछि सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन ४० जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ ।

बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले घाइतेहरूको अवस्था सामान्य रहेको बताए। कारागारभित्रको सुरक्षा अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको पनि उनले बताए ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्