इरानले आक्रामकता रोकोस, नत्र अस्तित्व नै समाप्त हुन सक्छ : ट्रम्प
अमेरिका, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा इरानले देखाएको आक्रामकताले उसलाई कुनै लाभ नहुने चेतावनी दिएका छन्। उनले संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न बाध्य पारिए इरानको अस्तित्व नै समाप्त हुन सक्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले इरानले शान्ति सम्झौताको उल्लङ्घन गरेको आरोप लगाए।
यो चेतावनी अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुज क्षेत्रमा इन्धन ढुवानी गरिरहेको पानामाको झण्डावाहक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप इरानका केही क्षेत्रमा हवाई आक्रमण गरेको भन्ने जानकारी सार्वजनिक भएपछि आएको हो।
राष्ट्रपति ट्रम्पले अमेरिकी विमानले इरानी मिसाइल, ड्रोन तथा तटीय राडार भण्डारण स्थललाई लक्षित गरी आक्रमण गरेको दाबी गरे।
“हामीले जति नै तर्कसङ्गत हुन खोजे पनि एउटा बिन्दु आउन सक्छ, जहाँ हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ,” ट्रम्पले भने।
उनले “यदि त्यसो भयो भने ‘इस्लामिक रिपब्लिक अफ इरान’ अब अस्तित्वमा रहने छैन,” भन्दै इरानलाई थप आक्रामक गतिविधि नगर्न चेतावनी दिए।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












