नेपाल र भारत ‘ए’ बीच टी–२० शृङ्खला हुने
काठमाडौँ, २६ असार । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने भएको छ।
क्यानका सचिव पारस खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै शृङ्खला आगामी सन् २०२६ डिसेम्बर ९, ११ र १३ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने जानकारी दिनुभयो।
यो निर्णय स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलनका क्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजित साइकियाबीच भएको बैठकपछि गरिएको हो।
क्यानले सार्वजनिक गरेको तालिकाअनुसार डिसेम्बर ९ मा पहिलो, डिसेम्बर ११ मा दोस्रो र डिसेम्बर १३ मा तेस्रो तथा अन्तिम टी–२० खेल हुनेछ।
नेपाल र भारत ‘ए’ बीच हुने यो शृङ्खलाले नेपाली क्रिकेट टोलीलाई उच्चस्तरीय प्रतिस्पर्धात्मक अनुभव दिलाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार










