सिफ्लेक्ससँग समझदारी नवीकरण
काठमाडौँ, जेठ २७
नेपाल प्रज्ञा–प्रतिष्ठान र चाइना फेडरेसन अफ लिटरेचर एण्ड आर्ट सर्कल (सिफ्लेक्स) बीच ‘साहित्यिक–सांस्कृतिक आदानप्रदान’सम्बन्धी आगामी पाँच वर्षका लागि समझदारी (एमओयु) नवीकरण भएको छ ।
दुवै देशका कला, संस्कृति तथा साहित्यको विकासको उद्देश्यसहित सन् २०११ को डिसेम्बर ३० मा पहिलो पटक चीनमा आपसी समझदारी भएको थियो । उक्त समझदारीबाट दुवै पक्ष लाभान्वित भएकाले पुनः समझदारी नवीकरण गरिएको हो ।
प्रज्ञा–प्रतिष्ठानद्वारा २०७४ जेठ २६ गते, शुक्रबार आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा सिफ्लेक्सका उपसभापति एवम् चिनियाँ प्रतिनिधि मण्डलका नेता पान लुसेङ्गबीच समझादीपत्रमा हस्ताक्षर गरिनुका साथै समझादारीपत्र आदानप्रदान गरियो ।
समझदारीपत्रमा दुवै मुलुकका साहित्य, कला तथा संस्कृति एकअर्काको मुलुकमा प्रवद्र्धन गर्न दुवै संस्थाले भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।
यसै गरी दुवै देशका महत्वपूर्ण कृति नेपाली तथा चिनियाँ भाषामा अनुवाद गरी प्रचार गरिने तथा दुवै देशमा साहित्यिक सम्मेलन गरिने पनि उल्लेख गरिएको छ ।
उक्त अवसरमा कुलपति उप्रेतीले दुवै संस्थाको सहकार्यबाट दुई देशको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाएर दुवै मुलुकमा आर्थिक तथा राजनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनसहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख लुसेङ्गले दुवै मुलुकको सांस्कृतिक सम्बन्धका कारण बहुपक्षीय सम्बन्ध सुधार हुने बताउनुभयो ।
तीन दिनका लागि आएको चिनियाँ प्रतिनिधिमण्डलमा टोली प्रमुख लुसेङ्गसहित ६ जना हुनुहुन्छ । प्रतिनिधिमण्डलका सदस्यहरूले पोखराका साथै काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । शुक्रबार राजधानी आइपुगेको प्रतिनिधिमण्डल आइतबार साँझ हङकङहुँदै चीन फिर्ता हुने छ ।
चिनियाँ प्रतिनिधिमण्डको सम्मानमा शुक्रबार प्रतिष्ठानद्वारा राजधानीको कान्तिपथस्थित होटल एल्लो प्यागोडामा रात्रिभोजको आयोजना गरिएको थियो ।
प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार