भोजपुरमा एमाले बन्यो पहिलो दल, फोरम चौथो, कुन दलको कति मत ?


 


भोजपुर, असार २२
स्थानीय तहको निर्वाचनमा भोजपुरमा एमाले पहिलो दल बनेको छ । एमालेले चार स्थानीय तहमा विजय हासिल गरेको थियो ।

निर्वाचनको अन्तिम परिणाम अनुसार एमालेले २५ हजार ६८५ मत प्राप्त गरेको छ । उस्ले हतुवागढी गाउँपालिका प्रमुख/उपप्रमुख, ट्याम्के मैयुङ गाउँपालिकामा प्रमुख/उपप्रमुख, रामप्रसाद राई गाउँपालिका प्रमुख र पौवादुङ्मा गाउँपालिका प्रमुख जितेको थियो ।

त्यस्तै भोजपुर नगरपालिका र षडानन्द नगरपालिकामा उपमेयर र साल्पासिलिछो गाउँपालिकामा उपप्रमुख जितेको थियो । एमालेले ३७ वटा वडा जितेको छ ।

नौ वटा स्थानीय तह रहेको भोजपुरमा सबै तहमा एमालेले उम्मेदवार उठाएको थियो भने सत्तारुढ र अन्य दलहरुको तालमेलकाबिच एमाले एक्लो थियो ।

संसदको सबैभन्दा ठुलो र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भोजपुरमा दोस्रो भएको छ । उस्ले चारवटा स्थानीय तह जितेको छ ।

भोजपुर नगरपालिकामा मेयर, षडानन्द नगरपालिकामा मेयर, साल्पा सिलिछो गाउँपालिकामा प्रमुख र अरुण गाउँपालिकामा प्रमुख/उपप्रमुख जितेको हो ।

कांग्रेसले २० हजार ५६१ मत प्राप्त गरेको छ । कांग्रेसले भोजपुर, षडानन्द नगरपालिका र अरुण गाउँपालिका बाहेक सबै तहमा तालमेल गरेको थियो ।

संघीय समाजवादी फोरमसँग तालमेल गरेको साल्पासिलिछो गाउँपालिका प्रमुख कांग्रेसले जितेको छ । कांग्रेसले जिल्लाका धेरै ठाउँमा फोरमसँग र कतिपय ठाउँमा माओवादीसँग तालमेल गरेको थियो । कांग्रेसले २५ वडा जितेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र भोजपुरमा पनि तेस्रो भएको छ । उस्ले एक गाउँपालिका जितेको छ भने १८ वटा वडा जितेको हो ।

आमचोक गाउँपालिका प्रमुख/उपप्रमुख, रामप्रसादराई गाउँपालिका उपप्रमुख र पौवादुङ्मा गाउँपालिकामा उपप्रमुख पद हात पारेको छ ।

माओवादी केन्द्रले १२ हजार ७६९ मत प्राप्त गर्याे । माओवादी केन्द्रले कांग्रेस, फोरम लगायतका दलहरुसँग तालमेल गरेको थियो ।

उपेन्द्र यादवको संघीय समाजवादी फोरम भोजपुरमा चौथो दलको रुपमा उपस्थित भएको छ । जिल्लाका अधिकांश ठाउँमा कांग्रेसलाई सघाएको फोरमले २९१६ मत प्राप्त गरेको छ ।

फोरमले एउटा वडामा वडाध्यक्ष सहित प्यानल नै विजयी बनाएको छ । अजम्बर राई काङमाङको वडा फोरमले कब्जा जमाएको हो ।

साल्पासिलिछो गाउँपालिकामा एमालेलाई हराउन फोरम मुख्य हतियार बन्यो भने ट्याम्के मैयुङ गाउँपालिकामा कांग्रेस माओवादीसँगको तालमेलमा रामसिंह राईलाई फोरमले गठबन्धनको उम्मेदवार बनायो ।

कमल थापाको राप्रपाले ४४०, खम्बुवान राष्ट्रिय मोर्चा ६९ जनजागरण पार्टी नेपाल १५ र एकनाथ ढकालको पार्टी नेपाल परिवार दलले ६ मत प्राप्त गरे ।

भोजपुरमा १३ वटा दल दर्ता भएका थिए भने स्थानीय तहको निर्वाचनमा आठ वटा दलको मात्र अस्तित्व देखिएको छ ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्