यू–१९ विश्वकप छनोट : नेपालको दोस्रो जित, झिनो लक्ष्य ९.५ ओभरमै पूरा


 



काठमाडौं, साउन ३
सिंगापुरमा जारी यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्यो ।

झिनो स्कोरको लक्ष्य भेटाउन नेपाललाई गाह्रो परेन । नेपालले ९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो । नेपालका लागि ओपनर व्याट्सम्यान सन्दिप सुनार मात्र ६ रनमा आउट भए । जब टीमको स्कोर ८ रन मात्रै थियो ।

आदिल खान पनि ५ रनमै आउट भए । अर्का खलाडी आसिफ शेखले भने २० बलमा ५ चौकाको मदतमा २३ रन बनाए । भरपर्दा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी पनि क्रिजमा टिक्न सकेनन् । उनले ४ रन मात्र बनाउन सके । अनिल साह पनि शून्यमै आउट भए ।
प्रिनित थापामगर अविजित १९ र रोहित कुमार ४ रनमा अविजित रहे ।

मलेसियाको पनि सुुरुवात खराब रहृयो । पहिलो ओभरमै खाना नै नखोलेर मलेसियाको पहिलो विकेट गएको थियो । सैफुला मलिक र वीरदीप सिंहले दोस्रो विकेटका लागि २१ रनको साझेदारी गर्दै पारी सम्हाल्न खोजे । तर, १२ औं ओभरको चौथो बलमा नेपाली टोलीका कप्तान समेत रहेका सन्दिप लामिछानेले मलिकलाई व्यक्तिगत ८ रनमा आउट गराए ।

त्यसपछि पवन सरार्फले लगातार २ विकेट लिए भने सन्दिपले दोस्रो विकेट लिँदा मलेसियाले १३.५ ओभरमा मात्र २६ रन जोडेर महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।

बाँकी मलेसियाका कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन् । १० औं विकेटरका लागि हाष्कल खैर र हफिजुद्दिनले १९ रनको साझेदारी गरे । तर, २५.५ ओभरमा सन्दिपले खैरको विकेट लिएपछि मलेसिया ५८ रनमा अलआउट भयो ।

मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि सन्दिप एक्लैले ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र १७ रन दिए । पवन सरार्फले ३ विकेट लिँदा किशोर महतो र सन्दिप सुनारको नाममा १–१ विकेट लिए ।

प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्