भूकम्प पीडितले कति मूल्यमा बेच्दैछन् ट्याक्सी नम्बर ? किन बिक्री हुँदैछ नम्बर ?


 


काठमाडौं, साउन ५

सरकारले भूकम्पपीडितलाई स्वरोजगार बनाउने उद्देश्यले गोलाप्रथामार्फत वितरण गरेको ट्याक्सी नम्बर बिक्री हुन थालेको छ । ट्याक्सी नम्बर पाएका भूकम्पपीडितले दलालमार्फत २ देखि ५ लाखसम्म लिएर अन्य व्यक्तिलाई ट्याक्सी दर्ता गर्न दिएको पाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

आफूले पाएको ट्याक्सी नम्बर अर्को व्यक्तिलाई दर्ता गर्न दिएर भूकम्पपीडितले तत्काल केही रकम हात पारे पनि दीर्घकालमा त्यसको लाभ अर्कैलाई पुग्ने देखिन्छ । यातायात व्यवस्था कार्यालय बागमतीका एक कर्मचारीले भने, ‘सरकारले भूकम्पपीडितको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले ट्याक्सी नम्बर प्रदान गरेको हो, तर अहिले यसको विपरीत काम भइरहेको छ ।’ दलालले भूकम्पपीडितलाई ट्याक्सी अन्य व्यक्तिको स्वामित्वमा दर्ता गर्न अनुमति दिएबापत न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख रुपैयाँसम्म दिने गरेको उनले बताए ।

किन बिक्री हुँदै छ नम्बर ?
गोलाप्रथाबाट ट्याक्सी नम्बर पाएका भूकम्पपीडितले अन्यलाई ट्याक्सी नम्बर बिक्री गर्नुमा पर्याप्त परामर्श (काउन्सिलिङ) नहुनु मुख्य कारण रहेको बताइएको छ । त्यसबाहेक ट्याक्सी नम्बर प्राप्त गर्नेसँग ट्याक्सी खरिद गर्न सक्ने रकम नहुनु र त्यसका लागि बैंक तथा वित्तीय संस्थाबाट विशेष प्याकेज आउन नसक्नु पनि उत्तिकै महत्वपूर्ण कारण देखिएको अधिकारीको भनाइ छ । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाले जसले धितो राख्न सक्छ वा कर्जा तिर्न सक्ने अन्य पनि पर्याप्त आधार देखाउँछ, उसैलाई मात्र कर्जा दिन्छ, ट्याक्सी नम्बर प्राप्त गर्ने अधिकांश भूकम्पपीडितसँग बैंकलाई देखाउन पर्याप्त धितो नभएका कारण ट्याक्सी लिन सहज देखिएको छैन ।’ यसकारण पनि भूकम्पपीडित ट्याक्सी नम्बर बिक्री गर्न बाध्य हुने देखिएको उनले बताए ।

प्रकाशित मिति: ५ श्रावण २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्