एउँटै कोठामा दुई कार्यालय


 


pandhare policeध्रुव सुवेदी
लेखर्क (भोजपुर) साउन१
सानो एउटा भवन जहाँ दुई कार्यालय छन् । पूर्वपट्टि प्रहरी चौकी पश्चिमतिर उपस्वास्थ्य चौकी । विच भागमा इट्टाको गारो लगाएर बारिएको छ ।

प्रहरी चौकी भनिएको कार्यालयमा पाँच वटा खाट, भित्तामा प्रहरीको पोसाक र गारोमा अडेस लाग्ने गरी बन्दुक ठडाईएको छ । उपस्वास्थ्य चौकीतिर एउटा दराज, थोरै मात्रामा औषधी, भित्ताभरी जनचेतनामुलक पर्चा टाँसीएको छ ।

ढुङ्गा र माटोले बनेको कर्कतपाताले छाएको सानो एकतले भवनमा दुई वटा चौकी राखिएको छ । भोजपुर सदरमुकामबाट आठ कोस पश्चिम लेर्खक गाविस पान्धारेस्थित एउटै कोठामा सञ्चालित दुई कार्यालयका भित्र र बाहिरका दृश्यहरु हुन् यी ।

यी दुई कार्यालयले भवनको एक–एक कोठा प्रयोग गर्दै आाएका छन् । महत्वपूर्ण एंव संवेदनशिल यी दुई भिन्न उदेश्यका चौकी एकै ठाउँ हुँदा दैनिक कामकाजमा असर त पुगेको छ नै सेवाग्राहीमा समेत समस्या निम्तिन थालेको छ ।

लामो समयदेखी सेवाग्राही समस्यामा पर्न थालेपछि स्थानीयवासीले असन्तुष्ट व्यक्त गर्न थालेका छन् । लेखर्क गाबिसको उपस्वास्थ्य चौकीमा छ बर्षदेखि प्रहरी चौकी बस्न थालेको हो ।

प्रहरी चौकीको आफ्नै भवन नहुँदा उपस्वास्थ्य चौकीबाट कार्यालय सञ्चालन गर्नुपरेको भोजपुरका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले बताए । खोटाङ र भोजपुरको सिमावर्ती क्षेत्रको सुरक्षाका निम्ति प्रहरी चौकी राखिएको हो ।

लेखर्कको पान्धारेमा चार दशकअघि स्थापित चौकी द्वन्द्वकालमा सदरमुकाम केन्द्रीत थियो । चौकीको निर्माणाधिन भवन माओवादीले पटक–पटक भत्काएपछि प्रहरी उपस्वास्थ्य चौकीमा आश्रित भएको हो ।

दुई कार्यालय एउँटै कोठामा भएपछि सेवा प्रभावित भएको भन्दै लेखर्क गाविसले प्रहरी चौकी निर्माणका लागि नौ लाख रकम विनियोजन समेत गरेको छ । यो रकमले यतिबेला प्रहरी चौकीको निर्माण थालिएको पाँन्धारेका प्रहरी सहायक निरिक्षक ध्रुव बहादुर कार्कीले बताए ।

यतिबेला यहाँ कार्यरत प्रहरी कोचाकोच बसेका छन् भने झोलाबाट कार्यालय सञ्चालन गर्दे आएका छन् । उपस्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरुलाई समस्या भएको छ ।

साँघुरो कोठाबाट विरामीको उपचार हुने गर्छ । विरामीलाई बस्ने ब्यवस्था समेत छैन् । उपस्वास्थ्य चौकीमा पर्याप्त भौतिक सुविधा नहुँदा विरामीहरु यहाँ आउन छाडेको स्थानीय शिक्षक निरकुमार शाक्यले बताए ।

सामान्य अवस्थाका विरामी जचाउन, औषधी लिन आउँदा समेत प्रहरीले सोधपुछ र निगरानी राख्दै आएपछि सर्बसाधारण उपचार गराउन छिमेकी स्वास्थ्य संस्था जान थालेका हुन् । स्थानीय बासिले प्रहरीलाई स्वास्थ्य चौकीबाट अलग राख्नुपर्ने माग गरेपनि सुनुवाई नभएको यस क्षेत्रका अगुवा उत्तमसिं राईले नागरिकलाई सुनाए ।

स्वास्थ्य चौकीमा प्रहरी कार्यालय बसेपछि उपचार सेवा प्रभावित बनेको छ । बस्ने ठाउँ नहुँदा प्रहरी समेत दरबन्दी अनुसार यहाँ छैनन् । भौतिक संरचनाको अभावमा प्रहरीको दैनिक कामकाजमा समस्या भएको यहाँ कार्यरत प्रहरीहरु बताउँछन् ।

सामान्य घटनामा प्रक्राउ परेकाहरुलाई समेत सोधपुछ गर्ने ठाउँ छैन् । मौषम अनुकुल भएका बेला प्रक्राउ परेका अभियुक्तहरुलाई चौरमा राखेर सोधपुछ हुँदै आएको यहाँका प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति: १ श्रावण २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्