भोजपुरमा संविधानको मस्यौदामाथि सुझाव संकलन शुरु


 


SAM_6015भोजपुर, साउन २
शुक्रबार हेलिकोप्टर चढेर भोजपुरमा आएका सभासदहरुले शनिबारबाट संविधानको मस्यौदामाथि सुझाव संकलन शुरु गरेका छन् । शनिबार भोजपुर सदरमुकाममा दुबै क्षेत्रका लागि आएका सभासदहरुले संयुक्त कार्यक्रमको आयोजना गरेर सुझाव लिन थालेका हुन् । सुझाव दिन सदरमुकाम आसपासका स्थानीय भेला भएका थिए ।

धेरै सुझाव राजनीतिक दलका जिल्लास्तरका नेताले नै दिएका थिए । त्यस्तै, प्रतिनिधिमुलक ढंगले महिला, दलित, नागरिक समाज, पत्रकार, संघ संस्थाका प्रतिनिधिहरुले पनि मस्यौदा माथि सुझाव दिएका थिए ।

नामांकन र सिमांकन बिनानै अपुरो संविधान जारी गर्न लागिएको भन्दै धेरै सहभागिले आपत्ति जनाएका छन् । कार्यक्रममा लिखित तथा मौखिक रुपमा सुझाव स्थानीयले दिएका थिए ।

संविधानको प्रस्तावना नै भद्धा भएको भन्दै धेरैले यसलाई छोटो बनाउन सुझाव दिएका छन् । अन्तरिम संविधान २०६३ भन्दा पनि यतिबेला आएको पहिलो मस्यौदा संकुुचित रहेको धेरैले धारणा राखे ।

समानुपाति निर्वाचन प्रणाली विकृत बन्दै गएको भन्दै यसलाई बैज्ञानिक बनाउन यहाँको नागरिकको राय छ । महिलाहरुले ५० प्रतिशत अधिकारको सुनिश्चिता हुनु पर्ने माग गरेका छन् ।

sujhab - Copyदलितहरुले आफ्नो अधिकार कटौती भएको भन्दै आपत्ति जनाएका छन् । उद्योगी ब्यपारीहरुले औद्योगीक वातावरणको सृजना गर्न मस्यौदा टोलीलाई सुझाव दिएका थिए ।

स्थानीयस्तरबाट महत्वपुर्ण सुझाव आएको भन्दै यसलाई समेट्ने प्रयास गरिने सभासद ज्ञानेन्द्रबहादुर कार्कीले बताए । मस्यौदा माथिको सुझाव लिन आएको टोली ४ गते दुबै निर्वाचन क्षेत्रका क्षेत्रिय सदरमुकाममा जाँदैछ ।

सदरमुकाममा भएको सुझाव संकलन कार्यक्रम विहान ११ बजेदेखी अपरान्हको साढे चार बजेसम्म भएको थियो । क्षेत्र नं १ को दिङ्ला बजार र क्षेत्र नं २ को घोरटार बजारमा सुझाव संकलन हुने सभासद शेरधन राईले बताए । क्षेत्र न‌ं १ का लागि ज्ञानेन्द्रबहादुर कार्की, कृपासुर शेर्पा र जयन्ती राई क्षेत्र नं २ का लागि शेरधन राई र मिनबहादुर विश्वकर्मा सुझाव स‌ंकलनका लागि अाएका हुन् ।

प्रकाशित मिति: २ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्