दमाइनी मायामा


 


निभा खुसि

मैले उसको घरभित्र पस्न मिल्दैन
छोएको भोजन चल्दैन
पानी चल्दैन
उसलाई मात्र मेरो शरीर चल्छ
यौवन चल्छ
यो दमाइनी मायामा ।

उ म भित्रै विलय हुँदा
शरीर संग शरीरको मिलन हुँदा
मेरा अङ्गअङ्ग संग खेल्दा
उसको जात खस्दैन
सुनपानी चाहिदैन
जात,शरीर र यौवन भिन्न देखिने
नजर अलिक फरक पाइदो रहेछ
यो दमाइनी मायामा ।

मलाई प्रवेश निषेध गर्दै
उसको कुल देवता सङगारमा बस्दो हो
मलाई देख्दै रिस उठ्दो हो
म भित्र चुर्लुम्मै डुबेको उसलाई भने
देखिसक्दा चोख्याउदो हो
दमाइनी संग लटपटिएको शरीरमा दूध बर्साउदो हो
र, त उ
तुरुन्तै पबित्र भैहाल्छ
उसको शरीरबाट मेरो गन्द भाग्छ
म दमाईनी लाई दुर्गन्धित बनाउदै
चरित्रहीन ट्याग भिराउदै
उ घरभित्र पस्छ
सायद बिनाजातको शरीर र यौवन हुन्छ क्यारे
यो दमाइनी मायामा ।

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्