‘नेपालका नारी साहित्यकार’ परिचय कोश प्रकाशित



काठमाडौँ, असोज १९

नेपाली साहित्यको इतिहास खोतल्दै जाँदा प्राथमिक चरणदेखि नै नारी सहभागिता रहेको पाइन्छ । तर पुरुष स्रष्टाका तुलनामा नारी स्रष्टाहरू सङ्ख्यात्मक रुपमा कम क्रियाशील देखिन्छन् । तथापि नेपाली साहित्यमा नारी सृजना उत्तिकै सशक्त र उल्लेखनीय रहेको पाइन्छ ।

बेला–बेलामा नारी स्रष्टासम्बन्धी एकाध गोष्ठी र सेमिनारहरू आयोजना हुने गर्दछन् । तर समग्र नारी साहित्यकार र तिनको सृजनाको अवस्था केकस्तो रहेको छ ? भन्ने विषयमा भने त्यस्तो उल्लेखनीय कार्य भएको पाइँदैन । यसै सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपालका नारी साहित्यकार’ नामक परिचय कोश प्रकाशित गरेको छ ।

प्रतिष्ठानको निबन्ध तथा समालोचना विभागको परियोजनाअन्तर्गत प्रा.डा. कुमार कोइराला र उपप्रा. रत्नमणि नेपालद्वारा सम्पादित परिचय कोशमा अङ्गुरबाबा जोेशीदेखि ज्ञानू पाण्डेसम्मका ३७१ जना नारी साहित्यकारहरूको संक्षिप्त परिचय समेटिएको छ ।

पुस्तकमा स्रष्टाका वैयक्तिक विवरणहरू वर्णाणुक्रमअनुसार राखिएका छन् । जम्मा ५२० पृष्ठको कोशमा प्रतिष्ठानका कुलपति, उपकुलपति र विभागीय प्रमुखको मन्तव्यका साथै सम्पाकद्वयको सम्पादकीय भूमिका समावेश गरिएको छ । पुस्तकमा नारी साहित्यकारका साहित्यसम्बन्धी धारणाहरूसमेत अँटाइएको छ ।

‘नेपालभित्र बोलिने र लेखिने विविध राष्ट्रिय भाषाका नारी साहित्यकारहरूलाई एउटै मालामा समेट्ने प्रयास गरिएको’ र ‘नेपालका नारी साहित्यकारहरूको साहित्यपरक अवस्था चित्रित गर्नुका साथै उनीहरूको समाजशास्त्रीय विश्लेषण गर्नु’ कोशको उद्देश्य रहेको सम्पाकद्वयले बताएका छन् ।

प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली महिला साहित्यकार’, ‘नेपालका महिला कथाकाहरू’, ‘नेपालका महिला कथाकारहरू भाग–१ र २’, ‘नेपाली डायास्पोरका नारी कथाकार र कथा’, ‘नेपाली कवितामा महिलालेखन’, ‘नेपाली नारीवादी समालोचना’ र ‘प्रज्ञा समकालीन नेपाली नारी कविता’ जस्ता कृतिहरू प्रकाशित गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News