पृथ्वी प्रज्ञा पुरस्कार प्रा डा शर्मालाई



काठमाडौँ, कात्तिक १३
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा डा तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

यहाँ आज सम्पन्न ३२ औँ प्राज्ञ सभाले सो पुरस्कार सिफारिशसम्बन्धी प्राज्ञ परिषद्को निर्णयलाई अनुमोदन गरेको सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

सो पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ । यस्तै प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने रु एक एक लाख ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ डा वीणा पौडेल घिमिरे र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा रामावतार यादवलाई प्रदान गरिने भएको छ ।

हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ का लागि विमल निभा (विमलकृष्ण श्रेष्ठ) तथा वर्ष २०७४ का लागि धु्रव सापकोटालाई दिइनेछ ।

यस्तै एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७३’ अब्दुल लतिफ सौक (उर्दू भाषा) र वर्ष २०७४ को सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइनेछ ।

पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार २०७३’ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई प्रदान गर्ने निर्णय भएको छ । सभाले चालू आवको नीति, कार्यक्रम र बजेट तर्जुमा गरेको छ । सचिव गिरीले चालू आवका १६ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

सभाले प्रतिष्ठानको नियमावली र कलाकार कर्मचारी सेवा शर्त विनियमावलीमा आवश्यक संशोधन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले आज सभाको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News