एसपी कोइरालाको कवितासंग्रह ‘सङ्स अफ स्वालोज’ सार्वजनिक



नेपालीपनका कृतिले नोबेल पुरस्कार जित्न सक्ने जिकिर

काठमाडौँ, कात्तिक १७
साहित्यकार एसपी कोइरालाको कवितासंग्रह ‘गौँथलीहरुको गीत’को अनुदित कृति ‘सङ्स अफ स्वालोज’ (गौंथलीहरुको गीत) सार्वजनिक गरिएको छ ।

सिर्जनात्मक महिला समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले कलाकार अरुणा हिङ्माङको नौदिने एकल चित्रकला प्रदर्शनीको पनि शुभारम्भ गर्नुभयो ।

कलाकार हिङमाङले साहित्यकार कोइरालाको कवितासंग्रहमा संग्रहित कविताको शीर्षकगत चित्र बनाउनुभएको छ । चित्र पुस्तकमा पनि समावेश गरिएको छ । यिनै चित्र प्रदर्शनीमा राखिएको हो । कलाकार हिङमाङको यो चौथो एकल चित्रकला प्रदर्शनी हो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले विदेशीको नक्कल गरेर नभई नेपाली मौलिकपनका कृतिको रचना सिर्जना गरेर नेपाली साहित्यलाई विश्व जगत्मा फैलाउन सकिने धारणा राख्नुभयो ।

“नेपालीले साहित्यमा नोबेल पुरस्कार जित्न विदेशीले जस्तो साहित्य रचना गर्नुपर्दैन, हाम्रै कला संस्कृतिका आधारमा पनि नोबेल पुरस्कार जित्न सकिन्छ”, उहाँले भन्नुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान नेपालीमा लेखिएका कृतिलाई अंग्रेजीमा अनुवाद गरिनुपर्ने बताउनुभयो ।

“अनुवादमार्फत नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा लगे नोबेलजस्ता ठूला पुरस्कार पनि जित्न सकिन्छ, त्यसका लागि कृतिको भावना नमर्नेगरी अनुवाद हुनुपर्छ”, उहाँले भन्नुभयो ।

कृतिकार कोइरालाले मन दुःखेका बेला आउने भावनालाई ‘गौँथलीका गीत’ मा समावेश गरिएको जानकारी दिनुभयो । यो उहाँको चौथो कृति हो ।

प्रशासनिक सेवामा २५ वर्ष काम गर्नुभएका पूर्वसचिव शंकरप्रसाद कोइरालाले दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित मन्त्रिपरिषद्का अर्थ, उद्योग र आपूर्तिमन्त्रीको जिम्मेवारीसमेत पूरा गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News