नेपालमा २० प्रतिशत मानिसमा रक्तचापको समस्या


 


काठमाडौं, कार्तिक २८

मुलुकको कुल जनसंख्यामध्ये २३ प्रतिशत पुरुष र १७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या पाइएको छ । ३१ प्रतिशत पुरुष र २४ प्रतिशत महिलामा सम्भावित उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) को समस्यासमेत पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले राजधानीमा एक कार्यक्रमबीच सोमबार सार्वजनिक गरेको ‘२०१६ नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण’मा उक्त तथ्य उल्लेख गरिएको छ ।

मुलुकको जनसंख्या तथा स्वास्थ्य स्थिति अनुगमनका लागि हरेक चार वर्षमा गरिने यो सर्वेक्षण सन् १९९६ यता पाँचौं हो । सर्वेक्षणमा मुलुकको प्रतिनिधित्व हुने गरी छनोट गरिएका ११ हजार ४० घरपरिवारबाट १५ देखि ४९ वर्षका १२ हजार ८ सय ६२ महिला र ४ हजार ६३ पुरुषको अन्तर्वार्ता गरिएको थियो ।

‘स्ट्रोक’ र मुटुरोगको बढदो जोखिम औंल्याउने यो सर्वेक्षणअन्तर्गत १५ वर्ष र त्यसभन्दा माथिका पुरुष–महिलाको रक्तचाप नापिएको थियो । मुटुको हरेक धडकनसँगै रगत नलीको पर्खालमा पर्ने बल वा धक्का रक्तचाप हो । सामान्यतया १२०/८० लाई सामान्य रक्तचाप मानिन्छ ।

अध्ययनमा सिस्टोलिक (माथिल्लो) रक्तचाप १४० एमएमएचजी वा यसभन्दा बढी र डायस्टोलिक (तल्लो) रक्तचाप ९० एमएमएचजी वा त्योभन्दा बढी देखिए त्यो व्यक्तिलाई उच्च रक्तचाप भएको ठानिन्छ । यस्तै सिस्टोलिक रक्तचापको स्तर १२०–१३९ एमएमएचजी र डायस्टोलिक रक्तचाप ८०–८९ एमएमएचजी देखिँदा सम्भावित उच्च रक्तचाप (प्रि–हाइपरटेन्सन) भनिएको छ ।

सर्वेक्षणअनुसार मुलुकमा प्रदेश नं ४ मा सबभन्दा बढी उच्च रक्तचापको समस्या देखिएको छ । यो प्रदेशमा ३१ प्रतिशत पुरुष र २४ प्रतिशत महिला उच्च रक्तचापको सिकार छन् । उच्च रक्तचापको स्थिति प्रदेश १ मा १८ प्रतिशत, २ मा १३ प्रतिशत, ३ र पाँचमा १९ प्रतिशत तथा ६ र ७ मा १० प्रतिशत देखिएको छ । तमाखु उपयोग गर्नेमा समेत उच्च रक्तचापको दर बढी देखिएको छ ।

तमाखु उपयोग गर्ने १६ प्रतिशत महिला र २० प्रतिशत पुरुषमा उच्च रक्तचाप देखिएको छ । जबकि तमाखु उपयोग नगर्ने १० प्रतिशत महिला र १३ प्रतिशत पुरुषमा मात्र उच्च रक्तचापको समस्या देखिएको छ ।

आर्थिक हिसाबले अति गरिब परिवारका १५ प्रतिशत महिला र २१ प्रतिशत पुरुषमा र धनी परिवारका ३२ प्रतिशत पुरुष २४ प्रतिशत महिलामा उच्च रक्तचाप देखिएको छ । बढी मोटा मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी रहेको समेत सर्वेक्षणले औंल्याएको छ । शरीरको बडी मास इन्डेक्स (उचाइअनुसार वजन) मा वृद्घिसँगै उच्च रक्तचापको समस्यामा समेत वृद्घि देखिएको छ ।

औसत वजनका मानिसमा भन्दा बढी वजन हुने दोब्बर मानिसमा रक्तचापको समस्या देखिएको छ । दुब्लो प्रकृतिका १४ प्रतिशत पुरुष र ११ प्रतिशत महिलालाई उच्च रक्तचापको समस्या देखिएको छ भने सामान्य तौल भएका १३ प्रतिशत महिला र २१ प्रतिशत पुरुष उच्च रक्तचापको सिकार छन् ।

मोटा २८ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषमा एवं अति मोटा ३८ प्रतिशत महिला र ५४ प्रतिशत पुरुषमा यो समस्या देखिएको छ । माध्यमिक तहको वा त्यसभन्दा कम शिक्षा पाएका महिला–पुरुषको तुलनामा त्यसभन्दा बढी शिक्षा पाएकामा रक्तचापको दर कम देखिएको छ ।-कान्तिपुर दैनिक

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्