विश्वमाझ नेपालको झण्डा फहराएकी भोजपुरे छोरी मिरा राईको यस्तो छ संघर्षको कथा (भिडियो सहित)


 


भोजपुर, साउन ३२

सेना समायोजनका बेला अयोग्य ठहरिएपछि उनलाई जीवनदेखि नै दिग्दार लागेको थियो। अत्यन्त कमजोर अवस्थाको परिवारलाई आर्थिक रुपमा उठाउनकै लागि उनी कुनैबेला माओवादी युद्धमा होमिएकी थिइन। उनले माओवादी ‘क्रान्ती’ बाट आफ्नोमात्र नभई पूरै देशको मुहार फेरिने विश्वास लिएकी थिइन।

घरको कमजोर आर्थिक अवस्थाले सानै उमेरदेखि मिरा राईलाई पिरोल्न थालिसकेको थियो। पारम्भिक शिक्षा गाउँकै स्कुलमा भए पनि थप शिक्षा हासिल हुन कठिन भएको बुझेकी उनी आफूले नपाए पनि भाई र बहिनीबाट धेरै पढ्ने आफ्नो सपना पूरा गराउन चाहन्थिन।

उसै विकट भोजपुर, त्यसमा पनि अझै विकट सानोदुम्मा गाविस ९ मा मिराको परिवार दैनिक हातमुख जोर्नकै लागि संघर्षरत थियो। त्यसमा उनी आमाबाबुलाई सघाउन चाहन्थिन। जसले उनलाई कक्षा ६ मा अध्ययनरत रहँदा नै माओवादीमा आवद्ध गरायो। पार्टीमा लागे पनि दुई वर्ष घरमै बसेर पढाई अघि बढाउने मौका पाएकी उनी ८ कक्षा पुगेपछि माओवादीको पूर्णकालिन सदस्य बनेकी थिइन।

क्रान्ति र राजनीतिका कुरा धेरै नबुझेकी उनी पार्टीमा लाग्नुको मुख्य उद्देश्य घरको अवस्थामा सुधार ल्याउनु नै थियो। माओवादी सेनालाई सामूहिक रुपमा नेपाली सेनामा समायोजन गर्ने खवरले उनमा उत्साहको संचार गरायो।

सेना समायोजनमा पर्न सके घरको अवस्थामा सुधार आउने विश्वास उनको थियो। तर, उनी अनमिनबाट अयोग्य घोषित भइन्। सेनाको फुली लगाएर मातापितालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो।

तर जीवनले नयाँ मोड लियो, सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन। सिपाहीको जागिर नपाएको पीडाले थुप्रै रात निदाउन नसकेकी तिनै मिरा अहिले देशकै गौरव बनेकी छिन्। अल्ट्रा दौडको विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा फहराएकी छिन्।

फ्रान्समा केही महिनाअघि सम्पन्न ८० किलोमिटर दुरीको म्याराथन डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जित्दा मिराले १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी तय गरेकी थिइन।

हेर्नुहोस् भिडियो

थप सामाग्री पढ्नुहोस्

विश्वमाझ नेपाली झण्डा फहराउँदै अाइपुगिन् मिरा

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्