भोजपुरमा बाढी पहिरोले करोडौको क्षति


 


भोजपुर, भदौ १८
अविरल बर्षा पछि आएको बाढी र पहिरोले भोजपुरमा करोडौको क्षति पुर्याएको छ भने एउटा पुरै गाउँ जोखिममा परेको छ । बाढी र पहिरोले यहाँको सुदुर उतर दोभाने गाविसको एउटा पूरै गाउँ जोखिममा परेको हो ।

मंगलबार राति १२ बजे गएको बाढी पहिरोले एउटा झोलुङ्गे पूलसहित तीन वटा घर र तीन वटा कागज उद्योग बगाएको छ । सदरमुकामदेखि २१ कोस सुदुर उत्तरमा पर्ने दोभाने गाविस–८ फेदी, सिलबास र जौंबारी आसपासको पूरै गाउँ जोखिममा परेको स्थानीयले बताएका छन् ।

पेमाखर्क आसपासको क्षेत्रबाट गएको पहिरोसँगै साल्पाखोलामा आएको बाढीेले पूल, फडके, साँघु, घर, उद्योग, सयौं रोपनी खेतबारी बगाएको स्थानीय बताएका छन् । मुसलधारे बर्षासँगै आएको बाढीले साल्पाफेदीमा रहेको एउटा फलामे झोलुङ्गे पूल पूर्ण रुपमा क्षति भएको छ ।

फेदी गाउँका भगत राई, चन्द्रबहादुर राईको घर र एउटा सामुदायिक भवन बाढीले बगाएको प्रहरी चौकी दोभानेले जनाएको छ । उक्त सामुदायिक भवन स्थानीय वन समुह, साल्पा शिलिचुङ संरक्षण समिति र आमा समुहले निर्माण गरेका थिए ।

प्रहरीका अनुसार ५१ जनाको खेतबारी बगाएको छ । बाढी पहिरोले साल्पा खोला किनारामा स्थानीय उत्तर कुमार राईद्वारा संचालित तीन वटा हातेकागज उद्योग बगाएको छ । धेरै क्षति ८ र ९ नं वडामा भएको प्रहरीको भनाई छ ।

बाढी पहिरोले धान खेत र अलैचीं बगाएको पीडित परिवारको भनाई छ । दोभानेकै च्याक्सिला मूलबाट बग्ने इन्द्रावती र साल्पापोखरी नजिकै मुहानबाट बग्ने साल्पाखोलाले हजारौं रोपनी खेतबारी, वनक्षेत्र बगाएको हो ।

बाढी पहिरोले फेदी, सिलबास लगायत आसपासको क्षेत्रमा बसोबास गर्ने एक सय ८० घरपरिवार जोखिममा परेको स्थानीय विनिता कुलुङले बताईन् । बैशाख १२ गतेको भूकम्प र त्यपपछिका पराकम्पनले जमिनको धाँजा फाटेको दोभाने–८ जौंबारी आसपासको क्षेत्रमा मुसलधारे बर्षा हुदा जमिनमुनि पानी भरिने र पानीको चापले थप पहिरोको त्रास बढेको स्थानीयको भनाई छ ।

भूकम्पमा दोभाने जिल्लाको सबैभन्दा बढी क्षति भएको गाविस हो । बाढी पहिरोको क्षति निरीक्षण गर्न दोभानेस्थित प्रहरी चौकीबाट टोली खटाइएको छ ।

पहिरोले जिल्लाको गुप्तेश्वर–४ का कमलबहादुर बिष्टको छ रोपनी खेतबारी पुरेको छ । करिब तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै षडानन्द नगरपालिका–७ का धर्मसिंह तामाङको दुई रोपनी क्षेत्रमा लगाएको अलैचीं बाढीले बगाएको छ भने दुई लाख बराबरको क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति: १८ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्