पूर्वसभासदले रकम मागेको घटनाप्रति कर्मचारीको यस्तो छ आपति



भोजपुर, भदौ २०
पूर्व सभासद एवं एकीकृत नेकपा माओवादी भोजपुरका अध्यक्ष सुदन किरातीले भोजपुर जिविसमा कार्यरत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका शासन विज्ञ इन्जिनियर राजु शिवाकोटीलाई रकम मागेकोप्रति कर्मचारीका संघसंगठनहरुले भत्र्सना गरेका छन् । शनिवार उनिहरुका संघ संगठनले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै लोकतान्त्रिक शासन व्यवस्थाको आदर्श, मूल्य, मान्यता शुसासन र कानुनी राज्यको मान्यता विपरीत राष्ट्रसेवामा समर्पीत कर्मचारीसँग पैसा मागेर आतंकित र जागिर छोडन बाध्य बनाएको भन्दै भत्र्सना गरेका हुन् ।

“कर्मचारीले निर्धक्क काम गर्न नसक्ने वातावरण सृजना हुने गरी राज्य संचालनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने रक्षकहरुबाट नै भएको यस प्रकारको भक्षक व्यवहारले राष्ट्रसेवकहरुलाई मर्महित एवं दुःखी बनाएको छ ” विज्ञप्तीमा भनिएको छ । कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीमाथी कारवाहीको माग गरेका हुन् ।

सम्पूर्ण राष्ट्रसेवकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा सुरक्षित रही काम गर्ने वातावरण बनाउन समेत कर्मचारी संघसंगठनहरुले माग गरेका छन् । विज्ञप्ती राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, स्थानिय निकाय कर्मचारी संघ, गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठनले निकालेका हुन् ।

यो पनि पढ्नुहोस्

पूर्व सभासदले नै कर्मचारीसँग यसरी पैसा मागे

प्रकाशित मिति: २० भदौ २०७२, आइतबार