डा.भम्पा राईलाई नेपाल सरकारको आर्थिक सहयोग


 


झापा,असार २९

नेपाल सरकारले भुटानी शरणार्थीका अगुवा डा.भम्पा राईलाई आर्थिक सहयोग गरेको छ । एक महिनायता आन्द्रामा रक्तश्रापका कारण विरामी परेका डा.राईलाई सरकारले नगद दश लाख रुपैया सहयोग गरेको हो ।

उक्त रकमको चेक आज एक कार्यक्रमकाबीच डा.राईलाई हस्तान्तरण गरियो । चेक प्रधानमन्त्री कार्यालयका स्वकीय सचिव युवराज दाहालले डा.राईलाई प्रदान गर्नुभएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार विरामी परेका डा.राईलाई नगद सहयोग गरेको दाहालले जानकारी दिनुभयो ।

चेक हस्तान्तरण गर्दै स्वकीय सचिव दाहालले डा.राईकी श्रीमती उर्मिलाको मृगौला डायलासिस पनि सरकारले निःशूल्क गराईदिने जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुबै मृगौला खराब भएकी डा.राईकी श्रीमतीको डायलासिस निःशूल्क गराउने निर्णय गरेको हो ।

दमक नगरपालिकामा आयोजना गरिएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा डा.राईलाई थप आर्थिक सहयोग प्राप्त भएको छ । डा.राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्थिक सहयोग गर्नुभएको हो । उहाँलाई प्रधानमन्त्री ओलीले एक लाख रुपैया सहयोग गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीको सहयोग रकमको चेक पनि स्वकीय सचिव दाहालले डा.राईलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै जिल्ला समन्वय समिति झापाले पनि डा.राईलाई एक लाख रुपैया सहयोग गरेको छ । समन्वय समितिले नगद एक लाख रुपैया डा.राईलाई उपलब्ध गराएको थियो । डा.राईलाई दमक नगरपालिकाले नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । नगरपालिकाका मेयर रोमनाथ ओलीले नगद ५० हजार डा.राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्