उर्लाबारीको मुख्य चोक अब सीसीटीभीको निगरानीमा


 


उर्लाबारी,  असार ३०

सार्वजनिक एवम् व्यवसायिक सुरक्षाका निमित्त मोरङको उर्लाबारी नगरपालिकाको मुख्य चौकमा चार वटा सिसी क्यामरा जडान गरिएको छ ।

उर्लाबारी उद्योग बाणिज्य संघ र उर्लाबारी नगरपालिकाको सहकार्यमा मुख्य चौक क्षेत्रमा भ्यापर लाईट सहित चार वटा सिसी क्यामरा जडान गरिएको संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब रु ११ लाखको लागतमा ४ वटा नाईट भिजन क्यामरा जडान गरिएको हो । उर्लाबारी उद्योग बाणिज्य संघको बार्षिक कार्ययोजना अनुसार सिसी क्यामरा जडान गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो । क्यामरा जडानले उर्लाबारीमा हुने अपराधिक गतिविधि र सडक दुर्घटना कम हुन्छ’ अध्यक्ष भट्टराईले भन्नुभयो,–‘योसंगै व्यवसायीक सुरक्षा पनि हुनेमा विश्वास छ ।’

उर्लाबारीमा हुने अपराधका गतिविधिमा संलग्न भएर भागेर जाने मुख्यद्वार मुख्य चोक भएकाले प्रहरीले पक्राउ गर्नमा सहजता हुने इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । मुख्य चौकमा जडान भएका क्यामराहरुको निगरानी इप्रका उर्लाबारीले गर्नेछ र त्यसको सवै विवरण इप्रका उर्लाबारीले नै रेकर्ड राख्ने छ । उर्लाबारी मुख्य चोकदेखी ३ सय मिटर सम्म घटना भएमा तत्काल पुग्न नसकेको खण्डमा प्रहरीले क्यामराबाट निगरानी गर्ने र अपराधिलाई पक्राउ गर्नमा सजिलो हुने प्रहरी निरीक्षक तिमल्सिनाको भनाई छ ।

उर्लाबारीका स्थानीय व्यापारीहरुले मुख्य चोक क्षेत्रमा चोरी, लुटपाट र अपराधिक गतिविधि रोक्नमा सिसिटिभी क्यामराले जडान हुनु खुसीको कुरो भएको बताएका छन् । यसैबीच नेपाल उद्योग बाणिज्य संघ र मोरङ व्यापार संघको सहयोग तथा उर्लाबारी उद्योग बाणिज्य संघको आन्तरिक श्रोतबाट संघको सभाहल व्यवस्थापन, कम्पाउण्ड वाल निर्माण, दुई वटा गेट निर्माणसहित भवनको रंगरोगन गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: ३० असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्