नाकाबाटै यसरी भित्रिन्छ अबैध सामान, दशैं अवधिमा लाखौंको सामान बरामद


 


अंकुश कुँवर
धनगढी, कार्तिक ५
धनगढीस्थित त्रिनगर भन्सार नाका हुँदै एक नेपालीले आइतबार भारतबाट झण्डै डेढ लाख मूल्य बराबरको सामान नेपाल भित्र्याउने असफल प्रयास गरे ।

व्यापारिक प्रयोजनका लागि फेन्सी सामान ल्याएका बैतडीका रियोग भट्ट नामका ती व्यापारीले झण्डै १० बजार मूल्य बराबरको सामानको मात्रै भन्सार तिरेर बाँकी सामान नेपाल भित्र्याउन खोजे । तीनवटा पाइडल रिक्सामा ल्याएको सामानमध्ये एक सानो रकमको सामानको बील देखाएर सामान नेपाल भित्र्याउने मनसाय बनाएका व्यापारीको प्रयास सफल हुन सकेन ।

अगाडिका सबै अवरोध पार गरेर भन्सार गेटसमेत कटाएर अगाडि बढाइएको सामान अन्तिममा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गर्यो । भारतबाट काम गरेर आएका बेला विहे र पूराना लत्ताकपडा भएको भन्दै नेपाल भित्रिन लागेको अनुमानित ७३ हजार २८० मूल्य बराबरको व्यापारिक सामान सशस्त्र प्रहरीले बरामद गर्न सफल भयो ।

उक्त सामान सशस्त्र प्रहरीको हातमा नपर्नुअघि भन्सार गेट अगाडि नैर चेक प्वाइन्ट भन्दा झण्डै दुई सय मिटर टाढा रहेको सशस्त्र प्रहरीकै अर्को चेक प्वाइन्टमा आएर मात्रै उक्त सामान पक्राउ पर्न सफल भएको थियो ।

भन्सार कार्यालय चेक प्वाइन्टका नायव सुब्बा टेकराज जोशीले कुन सामान कसरी गयो भनेर सबै ख्याल गर्न नसकिने अवस्था रहेको बताउनुभयो । ‘पारीबाट सामान आउँछ,’ उहाँले भन्नुभयो, ‘एक सामान चेक गरिरहेका बेला अर्को सामान अर्कोतिरबाट गइहाल्छ, थाहै हुँदैन, ओरालो बाटोमा सुइकी हाल्छन् ।’ आफूकहाँ आएको सामानको भने राजस्व तिरिएको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको चेक प्वाइन्ट, भन्सार गेटमै रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुकै चेक प्वाइन्टलाई पार गराइसकिएको थियो ।

सशस्त्र प्रहरी भन्सार गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक देबबहादुर चन्दले भारतबाट काम गरेर आएको बाहानामा रिक्सामा ल्याइएको व्यापारिक सामान नेपाल भित्रिन लागेको बताउनुभयो । उहाँले बरामद भएको सामानको मूल्यांकन गरेर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । उहाँकाअनुसार आइतबार मात्रै भन्सार गुल्मबाट खटिएको प्रहरी टोलीले नाकाबाट नै अबैध रुपमा आइरहेको ९८ हजार ४२५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

भन्सार नाकाबाटै भन्सार छलेर नेपाल भित्रिन लागेको अर्को १८ हजार ३४० रुपैयाँ बराबरको दैनिक उपभोग्य सामान बरामद गरिएको छ । यसैगरि आइतबार विहानको समयमा चिनी, कापी, पेन्सिललगायतका झण्डै सात हजार मूल्य बराबरको सामान पनि बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार नाकाबाटै दैनिक लाखौं मूल्य बराबरको सामान नेपाल भिनित्रे गरेको यी घटनाहरुले देखाएको छ ।

दशैंको पाँच दिनमा पाँच लाख बढीको सामान बरामद

सशस्त्र प्रहरी भन्सार गुल्मकाअनुसार यो दशैंको सुरुवातदेखि आइतबारसम्म पाँच लाख ४२ हजार मूल्य बराबरको भन्सार छलीको सामान बरामद भएको छ ।

जसमध्ये असोज २४ गते घटस्थापनाको दिन ५४ हजार ६४६, २६ गते ११ हजार ३२५ मूल्य बराबरको सामान बरामद बरामद गरिएको छ । सबैभन्दा बढी २७ गते तीन लाख ३० हजार १५० मूल्य बराबरको सामान बरामद भएको छ ।

त्यसैगरि, २९ गते ४७ हजार ५३० मूल्य बराबरको सामान बरामद गरेर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी भन्सार कार्यालयको तथ्यांक छ ।

नाकाबाटै दैनिक रुपमा व्यापारिक प्रयोजनका लागि सामान आयात हुनेक्रम अझै रोकिन सकेको छैन । कुनै न कुनै रुपमा व्यापारीक सामान नाकाबाटै राजस्व छलेर नेपाल भित्रिरहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्