नयाँ बर्ष


 


Arjun Rai
अर्जुन राई

बर्षहरुको साँधमा उभिएर म

क्षितिज नियाल्दै सोँचिरहेको छु

भोलि बिहानै न्यानो घाम उदाउने छ

चिसोले कठ्याङ्ग्रिएको शरिर

चलमलाउन थाल्नेछ

र म तुफानी वेगमा दौडनेछु

कल्पना गर्छु त्यो अन्जान बाटो

राजमार्ग जस्तै हुनेछ

सयौं सहयात्री हुनेछन्

सबैको मुहारमा खुशी उमङ्ग छाउनेछ

स्वप्नलोकमा झैं जीवन हुनेछ ।

फेरि हिजो तिर फर्केर

एकछिन नियाल्छु बाटाहरु

त्यहाँ कुनै राजमार्ग थिएन

उबडखाबड गल्लिहरुमा

ठेलमठेल भीडभाड

र निर्जन भूमिमा टुङ्गिएका बाटाहरु

तर पनि अहिले

एउटा मिठो कल्पना

र दृढ प्रतिज्ञा गरिरहेको छु

साँधमा उभिएर ।

प्रकाशित मिति: १७ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्