भूमाफियाको मिलेमतोमा बेचियो मैतीदेवी मन्दिरको जग्गा


 


काठमाडौं । गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतीदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ । जसका कारण मन्दिरको जग्गा मासिँदै गएको छ । नवदुर्गा मध्येकी एक महत्वपूर्ण शक्तिपीठ मैतीदेवीको नाममा रहेको गुठी तथा निजी गुठीका नाममा रहेका जग्गा गुठीयार तथा भूमाफियाको चलखेलका कारण मासिँदै गएको हो ।

मन्दिरका गुठीयारले जग्गालाई निजी नाममा ल्याई विभिन्न व्यक्तिलाई भोगचलन गर्न दिएको प्रमाण फेला परेको छ । यसरी मन्दिरको जग्गा व्यक्तिकोमा जानुमा मालपोत कार्यालयको भूमिका शंकास्पद देखिएको छ ।

३ भदौ २०५० मा मन्दिरको नाममा लालपुर्जा रहेको कित्ता नम्बर ९४ अन्तर्गत १५ आना २ पैसा जग्गा देवनारा मुनिकारको नामबाट सानुमाया मुनिकारले भोगचलनको अनुमति पाएको देखिन्छ । यद्यपि, मन्दिरको नाममा लालपुर्जा रहेकाले भोगचलनका लागि मन्दिरले स्वीकृति दिनुपर्ने हुन्छ ।

हाल सो कित्ता तीन व्यक्तिका नाममा कित्ताकाट भई गएको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ । यसरी मन्दिरको नाममा रहेको जग्गा कब्जा गर्न भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो देखिएको छ ।

मन्दिर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पाएको मैतीदेवी क्षेत्र प्रबन्ध समितिका तत्कालीन सदस्य सचिव मोहनबहादुर श्रेष्ठले भूमाफियाका कारण मन्दिरको जग्गा मासिँदै गएको र यसमा भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो रहेको दाबी गरे ।
राजधानीबाट

प्रकाशित मिति: ६ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्