असुरक्षित गर्भपतन ज्यानै जोखिममा


 


काठमाडौं । पच्चीस वर्षीया बिना (परिवर्तित नाम) अहिले पाठेघरमा संक्रमण भएर उपचाररत छिन् । स्थायी घर मोरङ बताउने उनी हाल काठमाडौंमा बसेर स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा पाठेघरको उपचारकै क्रममा छिन् ।

दुई वर्ष पहिले विवाह भएकी बिनाको योजनाबिनै गर्भ रह्यो । श्रीमान् र श्रीमतीबीच तत्काल बच्चा नजन्माउने सल्लाह अनुसार विराटनगर बजारकै औषधि पसलेकहाँबाट एक हजार रुपियाँ तिरेर घरैमा औषधि ल्याएर खाइन् ।

औषधि खाएको सात/आठ घण्टामा गर्भपतन त भयो तर रगत चाहिँ धेरै बग्यो । औषधिको असरका कारण उनको पाठेघरमा प्वाल परिसकेको र पाठेघरमा थप संक्रमण हुन नदिन पाठेघर नै फ्याल्नुपर्ने भएपछि ठूलो पीडामा छिन् ।

बिनाजस्तो शिक्षित र सहरमा बस्नेलाई त गर्भपतनको औषधि कस्तो स्वास्थ्य संस्था र कस्ता चिकित्सकको सल्लाहमा खाने भन्ने जानकारी रहेनछ । अझ अशिक्षित र दूरदराजका महिलाको हालत के होला रु यसबाटै पनि सहज अनुमान लगाउन सकिन्छ ।

औषधिको प्रयोग होस् वा औजारबाट गरिने गर्भपतन होस् दुवै विधिबाट गर्ने गर्भपतनका लागि सरकारले चिकित्सक, नर्स र अनमीलाई तालिम दिएको छ तर जथाभावी गर्भपतनको प्रवृत्ति निरन्तर बढ्दैगएको छ । आजको गोरखापत्र दैनिकमा सीता शर्माले यो समाचार लेखेकी छिन् ।

प्रकाशित मिति: ८ भाद्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्