‘ओझेलका यथार्थहरु’ विमोचित


 


विराटनगर, १३ असोज 

इतिहासकार प्राडा गणेशप्रसाद क्षेत्रीद्वारा लिखित ‘ओझेलका यथार्थहरु’ नामक पुस्तक आज यहाँ लोकार्पण भएको छ । वेद, पुराण, महाभारत र अन्य धार्मिक किताबका विकृति, विसङ्गतिका विरुद्धमा र असल समाज निर्माण गर्न तथा सांस्कृतिक रुपान्तरण गर्न प्रकाशित किताबले मद्दत गर्ने भनिएको छ ।

किताबमा प्राध्यापकद्वय कृष्ण पोखरेल र बद्रीविलाश पोखरेलले टिप्पणी गर्दै वैदिककालदेखि उत्तर वैदिक कालसम्मको पक्षलाई प्रक्षेपण गरेर निकालिएको यो किताब राष्ट्र र समाजको गहना हो भने। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नवप्रकाशित पुस्तकको विमोचन गर्दै आडम्बरी सोचबाट देश निर्माण गर्न नसकिने भएकाले देश र जनताका निम्ति निष्ठा र इमानको आवश्यकता छ भनेका छन ।

इमान र नैतिकताको खडेरी रहेको समयमा प्रकाशित किताबले धेरै मद्दत गर्ने भन्दै मुख्यमन्त्री राईले गलत संस्कृति र विचारसँग जुध्न किताबको सन्देशले बल पुर्याउने कुरामा जोड दिए । उनले जात, धर्म, भाषा र भूगोलका नाममा देशलाई विभाजित गर्न खोज्ने तत्व टिक्न नसक्ने दाबी गरे । उनले फरक धार र सोचबाट लेखिएको यो पुस्तक युग सुहाउँदो भएको र यसको प्रयोग तथा अध्ययनबाट देशको विकास गरी समृद्ध प्राप्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विनोद ढकालले यस पुस्तकबाट आधुनिक नेपाल निर्माणमा बल पुग्ने विचार व्यक्त गरे । लेखक क्षेत्रीले राष्ट्रिय र सामाजिक विषयका विकृति र विसङ्गतिलाई हटाउन तथा अन्धविश्वासबाट माथि उठी समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न किताबले थोरै भए पनि मद्दत गर्ने दाबी गरे ।

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्