सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी महिलाको अर्काे सनसनीपूर्ण खुलासा


 


काठमाडौं, असाेज १४

सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारीले २४ घण्टा नवित्दै आफ्नै बयानको सनसनीपूर्ण रुपमा खण्डन गरेकी छिन्।

कांग्रेसनिकट अनलाइन पोर्टल ‘हाम्राकुरा’मार्फत यौन दुर्व्यवहारको आरोप लगाएकी महिला कर्मचारी रोशनी शाहीले सत्तानिकट ‘नागरिकखबर’मार्फत उक्त आरोप फिर्ता लिएकी हुन्। यतिमात्रै होइन उनले महरालाई बुवासरह व्यक्ति समेत भनेकी छिन्।

सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको उनको भनाई आएको छ। उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको स्पष्टिकरण समेत दिएकी छिन्।

आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको उनको दाबी छ।

शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै आवेगमा आएका आफूले भनेका सबै कुरा गलत भएको बताइन्। ‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो। उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन। मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन्। त्यसमा कोही पनि भ्रममा नपर्नु होला’, उनले नागरिकखबरसँगको अन्तर्वार्तामा भनिन्, ‘मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन्।’

उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको प्रष्ट पारिन्। ‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो। त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन’, शाहीले भनिन। शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पनि बताइन्।

शाहीले आफ्नो आरोपको आफैले खण्डन गरे पनि सभामुख महराले पदबाट राजीनामा दिइसकेका छन् भने दुर्व्यवहारको विषयले बजारमा नकारात्मक धारणा स्थापित भएको छ।

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्