बसको ठक्करबाट दुईको मृत्यु


 


चितवन, भदौ ७

चितवनको भरतपुरमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पोखराबाट वीरगन्ज जाँदै गरेको ना ४ ख ३६९३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ३६ प २२६४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट–२ का २९ वर्षीय निराजन न्यौपाने र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका ३४ वर्षीय तिलक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान १ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेज अगाडि राति साढे १२ बजे दुर्घटना भएको थियो । दुवैजनाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ भने बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्