सुकल्पको महासम्मेलन, मुख्य सचिव डा सुवेदी सम्मानित


 


somlal-subediकाठमाडौं, भदौ १८

नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी सम्मानित भएका छन् । सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) ले डा सुवेदीलाई सम्मान गरेको हो ।

पूर्व राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता नवराज सुवेदीले शनिबार डा सुवेदीलाई सम्मान गरे । सुवेदी कूलमा जन्मिएर देशकै सबैभन्दा उच्च प्रशासनको प्रमुख भएका डा सुवेदीलाई सम्मान गर्न पाउँदा हर्षित भएको राप्रपा नेता सुवेदीले बताए ।

सम्मानपछि डा सुवेदीले २१ औं शताब्दीलाई सूचना र प्रविधिको समय भन्दै सूचना शक्ति भएको र सूचनाहरु आदानप्रदान गर्न सुवेदी बन्धुहरुलाई सुझाव दिए । उनले भने, ‘श्रोतहरुको सीमितता हुन्छ, सिर्जनाको हुन्न, तसर्थ सीमित श्रोतबाट अधिक सिर्जना गर्न सक्नुपर्छ ।’

मुख्य सचिव डा सुवेदीले सुवेदीहरु नयाँघरे र लामपाटे भनेर उनीहरुलाई बिभाजन गर्नु भन्दा पनि ‘एकघरे’ भएको बताए ।
सुवेदी कल्याण प्रतिष्ठानको महासम्मेलनमा राप्रपा नेता नवराज सुवेदीले प्राद्यापक डा अभि सुवेदी, डा तीर्थराज हंसपुरे सुवेदी, सांसद कमला सुवेदी, निर्मलप्रकाश सुवेदी, तारादेवी सुवेदी, धनकेशरी सुवेदी, पोशकनाथ सुवेदी, अम्बिकाप्रसाद सुवेदीसमेत जेष्ठ सदस्यलाई सम्मान गरे ।

महासम्मेलनमा नेपालभरबाट करिव १ हजार सुवेदी प्रतिनिधि छन् । महासम्मेलनमा राप्रपा नेता नवराज सुवेदी, प्राद्यापक राजेन्द्र सुवेदीसमेतले सुवेदी कल्याण प्रतिष्ठानले भविष्यमा अपनाउनु पर्ने कार्यदिशाका बिषयमा धारणा राखेका छन् ।

महासम्मेलन आइतबार सम्म सञ्चालन हुने छ । महासम्मेलनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १८ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्