चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने


 


काठमाडौं, पुष १५
बहुप्रचारित नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन बुधबार (पुस १६ मा) राजधानीको दशरथ रंगशालामा भव्य रुपमा गर्ने तयारी पूरा भएको छ। उद्घाटन समारोहमा चार मुलुकका पर्यटनमन्त्री र १८ मुलुकका पत्रकार आउने भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उद्घाटन समारोहमा उत्साहपूर्वक सहभागी हुन सबैलाई आग्रह गरिएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले उद्घाटन समारोहबारे जानकारी दिन आयोजना गरेकोे पत्रकार सम्मेलनमा भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिइयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटन समारोह अन्तर्राष्ट्रिय रुपमा नै चर्चा पाउने खालको हुने बताए। संघीय राजधानी काठमाडौंर सातै प्रदेशबाट एकसाथ भम्रण वर्षको उद्घाटन हुने जानकारी दिँदै उनले नेपालबाहिर भने जनवरी ७मा उद्घाटन हुने जानकारी गराए।

२० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारलाई देशको समृद्विको आधारसँग जोडेर मन्त्रालय भ्रमण वर्षको तयारीमा लागेको उनको भनाइ छ। ‘भ्रमण वर्षसफल बनाउन एक सयभन्दा बढी संघ–संस्थाले सहमति जनाएका छन्,’ उनले भने, ‘सरकारी, गैरसरकारी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत २० लाख पर्यटक नेपाल ल्याउने पहलमा सहयोगको अपेक्षा गरेका छौं।’

उद्घाटन समारोहमा नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधि, उच्चपदस्थ व्यक्तिसहित, सञ्चारकर्मी, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहने उनको भनाइ छ। उद्घाटन समारोहबाटै सकारात्मक सन्देश दिन खोजेको जनाउँदै कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्नेसमेत उनले जानकारी गराए।

‘विश्वभरका पर्यटकलाई नेपाल सुरक्षित र पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त रहेको जानकारी दिन आवश्यक छ,’ मन्त्री भट्टराईले भने, ‘यो लगानीको लागि समेत उपयुक्त मुलुक रहेको जानकारी गराउन खोज्दैछौं।’ सरकारको २० लाख पर्यटक भित्र्याउन खोजेर कुल घरेलु उत्पादनमापर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउन २०२० लाई प्रस्थान बिन्दुको रुपमा लिएको उनको भनाइ छ। अबको १० वर्षलाई भ्रमण दशकको रुपमा जोड दिन सरकार तयार रहेको उनले बताए।

भ्रमण वर्षलाई नयाँ उज्यालोको रुपमा मनाउन आग्रह गर्दै उनले जनवरीको पहिलो दिनपछिको हरेक दिन नेपालीका लागि उज्यालोतर्फको यात्रा हुने दाबी गरे। देशलाई भ्रमण वर्षमय बनाउन आग्रह गर्दै मन्त्री भट्टराईले पर्यटनमा पूर्वाधार विकास, गन्तव्य प्रवद्र्धन, पर्यटनका माध्ययमबाट गरिबी निवारण गर्न समेत सरकारले ध्यान दिएको बताए। करिब तीन घन्टाचल्ने उद्घाटन कार्यक्रममा सहभागी हुन सोमबारदेखि नै विभिन्न देशका विशिष्ट व्यक्तिहरु आउन थालेको उनले बताए।

कार्यक्रममा भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले भ्रमण वर्षको उद्घाटन हालै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)को भन्दा भव्य बनाउने तयारी भएको जानकारी गराए। उनले दिउँसो तीन बजे सुरु हुने उद्घाटन समारोहमा सहभागिताको लागि विभिन्न प्रकारको पासको व्यवस्था गरिएको जानकारी दिए।

पर्यटन बोर्डका पूर्व प्रमुखकार्यकारी अधिकृततथा भ्रमण वर्ष उद्घाटनको लागि बनेको उपसमितिका संयोजक दिपकराज जोशीले जमैका, म्यानमार, भारत, चीन,कम्बोडिया, युएई, भुटान लगायत देशका प्रतिनिधि सहभागी हुने जानकारी गराए। ‘भारत, चीन, जमैका र म्यानमारबाट पर्यटनमन्त्रीले नै सहभागिता जनाउन पक्का भएको छ,’ उनले भने, ‘सहभागिताका लागि ३५ भन्दा बढी देशलाई निमन्त्रणा पठाए पनि नयाँ वर्षको समय परेकाले धेरैले सहभागिता जनाउन सकेनन्।’

मंगलबारसम्म विदेशी पाहुना आइपुग्ने उनको भनाइ छ। नेपाल टेलिभिजनबाट उद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने छ।समारोहमा १८ मुलुकका पत्रकार सहभागी हुने पनि जानकारी दिइयो। यसैबीच,मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता भएको छ। एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई भ्रमण वर्षको इकमर्स पार्टनर बनाउने सम्झौता भएको हो।

सम्झौतापत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर तथा भ्रमण वर्ष सचिवालय सदस्य बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार रिचार्जरले आफ्नो व्यावसायिक अभियानका दौरान भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने किसिमका प्रवद्र्धनात्मक अभियान सञ्चालन गर्नेछ। नागरिक दैनिकबाट

प्रकाशित मिति: १५ पुस २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्