निलम्बित डीएसपी ढुंगेलसहित १२ जनाविरुद्ध मुद्दा दर्ता


 


काठमाडौं, पुस १८
नेपाल प्रहरीका निलम्बित डीएसपी कुमुद ढुंगेल, गुन्डा नाइके राजु गोर्खाली भनिने राजेन्द्रबहादुर गोर्खालीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । आपसी गठजोडमा डाँका, शरीर बन्धक र संगठित अपराधमा संलग्नता गरी तीन–तीन अभियोग उनीहरूविरुद्ध लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अभियोगपत्र दर्ता गरेको काठमाडौं जिल्ला अदालतले जनाएको छ । ‘तीनवटा कसुरमा मुलुकी फौजदारी संहिताको दफा ४३ लगायतका दफाअनुरूप १४ वर्षसम्म जेल सजाय माग गर्दै बुधबार मुद्दा दर्ता हुन आएको छ’, अदालतका अधिकृत टीकासिंह खत्रीले भने। कानुनतः यो हदैसम्मको सजाय माग भएको उनले बताए।

अदालतका अनुसार ढुंगेल, गोर्खालीसहित काठमाडौं चन्द्रागिरीका नवराज तामाङ, सन्तबहादुर तामाङ, विक्रम श्रेष्ठ, नुवाकोटका रविकुमार तामाङ, धुलिखेलका दीपक रञ्जितकार, मोरङ पथरीका विनु राई, धादिङका सन्तोष तामाङ, मकवानपुरका उत्तम भ्लोन, भ्लोनपत्नी सुशीला जोशी र ट्याक्सी चालक नारायणरत्न शाहीलाई प्रतिवादी बनाइएको छ। यीमध्ये नवराज, सन्तबहादुर, विक्रम, रविकुमार र विनुलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको छ। ढुंगेलसहित अन्य फरार रहेकाले अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ। रौतहटको चन्द्रनिगाहापुर इलाका प्रहरी कार्यालयमा डीएसपी रहेका बेला ढुंगेललाई प्रहरी प्रधान कार्यालयले गत २१ वैशाखमा निलम्बन गरेको थियो।

जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले मुलुकी अपराध संहिताको दफा ४३ बमोजिम यी प्रतिवादीविरुद्ध एकीकृत कसुरबापत थप सजायको मागसहित अभियोग चलाइएको बताए। उक्त दफामा कुनै व्यक्तिले एउटै वारदातमा एकभन्दा बढी कसुर गरे त्यस्तो व्यक्तिले एकीकृत कसुर गरेको मानिने उल्लेख छ। यस्तै एकीकृत कसुर गर्ने कसुरदारलाई सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुरबापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसुरबापतको सजायको आधा थपेर सजाय तोक्नुपर्ने व्यवस्था उक्त दफामा छ।

काठमाडौं रानीबारीमा गत २६ चैतमा भएको डकैती प्रकरणलगायत अपराधमा उनीहरूबीच ‘नेक्सस’ देखिएपछि प्रहरीले कारबाहीको मागसहित अनुसन्धान प्रतिवेदन बुझाएको थियो। ढुंगेलको शंकास्पद गतिविधि बाहिरिएपछि गृहसचिव प्रेमकुमार राईको निर्देशनअनुरूप सुरुमा प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको थियो। रानीबारीका लालेन्द्र शेरचनको घरमा भएको डकैती प्रकरणमा मुछिएका विक्रम श्रेष्ठले ढुंगेलको मोबाइलमा सन्देश पठाएको तथा भेटघाट गरेको अनुसन्धानबाट खुलेको छ। श्रेष्ठ र ढुंगेलबीच महाराजगन्जस्थित भेनस रेस्टुरेन्टमा भेट भएको खुलेको छ। शेरचनको घरमा लुटपाट गर्ने योजना नवराज, दीपेश र सन्तोषले बनाएको अनुसन्धानले देखाएको छ। ढुंगेलको नेक्सस निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या प्रकरणमा मुख्य योजनाकार भनिएका समीरमानसिंह बस्न्यातसँग पनि रहेको रहस्यसमेत बाहिरिएको थियो।

श्रेष्ठले ९८५११५५१८४ नम्बरको मोबाइलबाट ढुंगेलको ९८५११८०००० नम्बरमा चैत २७ गते साँझ ६ बजेर २३ मिनेटमा र २८ गते अपराह्न ३ बजेर ५ मिनेटमा संवाद भएको कलडिटेलले देखाएको छ। चैत २८ गते पनि दुई जनाबीच अर्को फरक मोबाइलमा सम्पर्क भएको छ। श्रेष्ठले ट्याक्सी चलक तामाङको नाम जोडेर ढुंगेलसँग बातचित गरेका छन्। उनीहरूको भेटघाट र फोन सम्पर्कलगत्तै डकैत र लुटपाट भएको देखिएको छ। शेरचनको घरमा ठूलो धनराशि र सुनका गरगहनाको सूचनाका आधारमा लुटपाटको योजना बनाएका उनीहरूले घरबाट ५ लाख ६० हजार रुपैयाँ डकैत गरेको अभियोग दाबी छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

प्रकाशित मिति: १८ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्