१२ दिनदेखि भेन्टिलेटरमा, अचेत महिलाले दिइन् स्वस्थ शिशुको जन्म


 


बारा, पुस २३
निजगढकी कुशुम चौलागाईले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो। तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीया उहाँले मृत्युमाथि विजय हासिल मात्र गर्नुभएन सकुशल आमा पनि बन्नुभयो।

साढे चार महिनाअघिको कुरा हो, गर्भवती चौलागाईलाई अत्यधिक टाउको दुखेका कारण अर्धचेत अवस्थामा महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पताल पुर्याइयो, तर उहाँले दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार पाउनुभएन। उहाँका श्रीमान् युद्ध खड्काले श्रीमतीलाई थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुर्याउनुभयो। त्रिवि शिक्षण अस्पतालमा वास्ता नै नगरेको बिरामीलाई नर्भिक पुर्याएको साढे दुई घण्टामा रोग पत्ता लगाई शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुबैले नयाँ जीवन पाएका छन्।

सरकारको प्रत्यक्ष लगानीमा सञ्चालित त्रिवि शिक्षण अस्पतालका कारण निजगढ, बारा घर भै काठमाडौंको कपुरधारामा पसल गर्दै आएकी कुशुम र गर्भमा हुर्कदै गरेको अवोध बच्चाको जीवन नै झण्डै समाप्त भएको !अहिले चौलागाईको काखमा ९ दिनको नवजात शिशु छ। ‘स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.असला वैद्य र उहाँको समूहले साढे चार महिनाको अथक प्रयास गरेर मेरी श्रीमती र शिशुलाई जीवनदान दिनुभयो’ प्रसूतिलाई नियालिरहेका श्रीमान्ले भन्नुभयो। यो समाचार नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन।

प्रकाशित मिति: २३ पुस २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्