पतिलाई ज्यान मार्ने धम्की आएपछि डीम्पल झाले सांसद बाटै सुरक्षा मागे


 


dimpal-anil

काठमाडौं, भदौ २३   सांसदले जनताको पक्षमा कुरा गर्छन् भन्ने मान्यता सबैमा हुन्छ । हुनत सांसदको पनि घरपरिवार हुन्छ । एउटा सांसदको पहिलो दायित्व भनेको राष्ट्र र जनतामा हुनु पर्छ ।

तर संसदको बिहीबारको बैठकमा एउटा अचम्मको घटना देखियो । कुरा हो एकसिटे मधेस केन्द्रित दल नेपाल सदभावना पार्टीको हो ।

सदभावना पार्टीकी प्रवक्ता समेत रहेकी सांसद डा.डीम्पल झाले संसद बैठकमा आफ्ना पतिलाई ज्यानमार्ने धम्की आएको भन्दै चिन्ता जनाइन् ।

उनले भनिन्, ‘मेरो पतिलाई रौतहटमा ज्यानमार्ने धम्की आएको छ । यसबारे राज्यले सोधखोज गरोस् । दोषीलाई कारबाही होस् ।’ उनले यसअघि पनि आफ्ना भिनाजु र आफन्तलाई धम्की आएका विषयमा संसदमा कुरा उठाएको समेत बताइन् ।

पूर्वमन्त्री समेत भइसकेका व्यक्तिलाई ज्यानमार्ने धम्की आउँदा पनि राज्यले केही गर्न सकेन भनेर आफ्ना पतिको सुरक्षामा ठूलो चिन्ता जनाइन् ।

झण्डै सात मिनट विशेष समय पाएकी नेपाल सदभावना पार्टीकी सांसद डा.झाले आफ्ना पतिको गुणगान र सुरक्षालाई लिएर पटक पटक कुरा उठाइन् ।

हुन त उनका पति अनिलकुमार झा नेपाल सदभावना पार्टीका अध्यक्ष र पूर्व उद्योगमन्त्री हुन् । उनको सुरक्षामा राज्यको दायित्व हुन्छ ।

पतिको सुरक्षामा पत्नीलाई चिन्ता हुनु स्वभाविक हो । के संसदमा विशेष समय लिएर आफ्ना पतिको सुरक्षबारे एकोहोरो कुरा गरिरहनु सुहाउँछ ?

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्