ट्राफिक व्यवस्थापनामा आपसी समन्वय आवश्यकः आइजीपी अर्याल


 


काठमाडौं, काठमाडौं, भदौं २४

 प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको विशेष आतिथ्यमा क्षेत्रीय प्रहरी कार्यालय पोखराद्वारा आयोजित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण बिषयक एक दीवसीय क्षेत्रीय कार्यशाला गोष्ठी बिहिबार पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । गोष्ठीमा प्रहरी महानिरीक्षक अर्यालले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सबै सरोकारवाला निकायहरुबीच आपसी समन्वय र समझदारी गरी कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी आफूलाई प्राप्त जिम्मेवारी हरसम्भव तरीकाले पुरा गरिरहेको तथा आगामी दिनमासमेत अझै प्रयत्नशील रहने बताउनुभयो ।

उक्त अवसरमा क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीले कार्यक्षेत्रका समस्याहरुलाई सहजीकरण गरिने उल्लेख गर्नुभएको थियो भने कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरोकारवाला निकायबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो ।
दुई सत्रमा सम्पन्न उक्त गोष्ठीमा सरोकारवाला निकायहरु क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल, यातायात व्यवस्था कार्यालय लुम्बिनी तथा गण्डकी, पोखरा उपमहानगरपालिका, राष्ट्रिय बिमा कम्पनी, क्षेत्रीय सडक निर्देशनालय पोखरा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका समस्या, चुनौती र समाधानका उपायहरुका बारेमा आ–आफ्नो निकायबाट सम्पादन गर्नुपर्ने बिषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीमा यातायात निरीक्षक नियुक्तिको पहल, आ–आफ्नो निकायबाट सम्पादन हुने कार्यहरु गर्ने, सरोकारवाला निकायबीच समय समयमा छलफल गर्ने, थप ट्राफिक प्रहरी जनशक्तिका लागि पहल गर्ने र राजमार्ग तथा संवेदनशील स्थानमा परिवर्तित ऐना र ‘क्याट आई’ राख्ने बिषयमा निर्णय भएको थियो ।

क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले समापन गर्नुभएको गोष्ठीमा प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठ, पत्रकार महासंघका कास्की जिल्ला अध्यक्ष रामकृष्ण ज्ञवाली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले समेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्