सभामुख कहिले कहिले बासको टुंगो अहिले


 


काठमाडौं, पुस २८
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख चयन गर्न रस्साकस्सी छ। शीर्ष नेतृत्वको आ–आफ्नै अडानका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुनसकेको छैन। सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा तेस्रो पटक संसद् बैठक स्थगित भएको छ। तर यस्तो अन्योलको अवस्थामा सरकारले भने सभामुख बस्ने निवासको टुंगो लगाएको छ। संसद् सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलानपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना बालुवाटारस्थित सभामुख निवासमा सरेका थिए ।

तर नयाँ सभामुख चयन प्रक्रिया अगाडि बढेसँगै शहरी विकास तथा भवन निर्माण विभागले सभामुखका लागि निवास तयारी अवस्थामा राखेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई मन्त्रीनिवास पुल्चोकस्थित सरकारी क्वार्टरमा सारेर सभामुखका लागि निवास तयारी अवस्थामा राखिएको छ।

लैनचौरस्थित गैह्रीधारा सरकारी निवास खाली गराएर नयाँ सभामुखका लागि तयारी अवस्थामा राखिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले नेपाल समाचारपत्रलाई जानकारी दिए । उनले भने, ‘सभामुख बस्दै आउनुभएको बालुवाटारमा राष्ट्रिय सभाका अध्यक्ष बस्नुभएकाले पर्यटन मन्त्रीलाई पुल्चोकमा स्तानान्तरण गरेर सभामुखका लागि निवास तयार गर्न लागिएको हो।’

गैह्रीधारास्थित उक्त भवनमा पूर्वउपराष्ट्रपति परमानन्द झा र वर्तमान उपराष्ट्रपति नन्द किशोर पुन बसेका थिए । सो निवास उपराष्ट्रपतिलाई साँघुरो भएपछि गत भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

उक्त निर्णयसँगै उपराष्ट्रपति पुन अहिले समाज कल्याणकै भवनमा बस्दै आएका छन् । उपराष्ट्रपति सरेसँगै उक्त निवास खाली छ।करिब पाँच महिनाअघि योगेश भट्टराई पर्यटनमन्त्री भएसँगै पुल्चोकस्थित सरकारी निवास अभाव भएकाले उहाँलाई उपराष्ट्रपति बस्दै आएको निवासमा राखिएको थियो। नेपाल समाचारपत्र

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्