बालुवाटारको २० रोपनी जग्गा कर्मचारीलाई घुस!


 


काठमाडौं, पुस २८
बालुवाटारको एक सय ३४ रोपनी सरकारी जग्गा कर्मचारी र बिचौलियाले नै सरकारी कागजपत्र किर्ते गरेर व्यक्तिको नाममा लगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निष्कर्ष निकालेको छ । सिआइबीले यो प्रकरणमा राजनीतिक संलग्नता भने नभेटिएको जनाएको छ ।

एसपी बेलबहादुर पाण्डेको नेतृत्वमा बालुवाटार प्रकरण छानबिन गरिरहेको ब्युरोले कर्मचारीले नै किर्ते कागजपत्र बनाई मन्त्रिपरिषद्सम्म पेस गरेर सरकारी जग्गा व्यक्तिको नाममा लगिएको निष्कर्ष निकालेको हो । ब्युरोले १० महिना लामो अनुसन्धान टुंग्याएर संलग्न कर्मचारी र बिचौलियाविरुद्ध मुद्दा चलाउने तयारीसमेत गरेको छ । ‘हाम्रो अनुसन्धानमा यो सबै खेल कर्मचारीले गरेको देखियो,’ ब्युरोका एक अधिकारीले भने, ‘कर्मचारीले नै मन्त्रिपरिषद्लाई समेत झुक्याएको देखिन्छ ।’

अदालतको फैसलासमेत किर्ते बनाएर पेस गरिएको छानबिनमा खुलेको छ । मोहीको नाममा नामसारी गरिएको सो जग्गा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समरजंग कम्पनीकै नाममा राख्ने निर्णय गरेको थियो । त्यसविरुद्ध अदालतमा उजुरी परेकोमा आयोगले आफ्नो क्षेत्राधिकार मिचेर निर्णय गरेको अदालतको फैसला थियो । तर, जग्गा मोहीकै नाममा हुने उल्लेख थिएन । तर, उनीहरूले सो जग्गा मोहीकै नाममा राख्न फैसला गरेको कागजपत्र डिल्लीबजार मालपोत कार्यालयमा पेस गरी, भूमिसुधार मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर आफ्नो पक्षमा निर्णय गराएका छन् । यसरी आफ्नो पक्षमा निर्णय गराउन धेरै कागजपत्र किर्ते गरिएको छानबिनमा आबद्ध अधिकारी बताउँछन् ।

मोहीसम्बन्धी समेत नक्कली कागजपत्र बनाइएको थियो । केही पैसा दिएर अधिवक्ता रामप्रसाद सुवेदीले आफूहरूलाई हस्ताक्षर गर्न लगाएको, अरू केही जानकारी नभएको मोहीले बताएका छन् । नक्कली मोही खडा गरी मन्त्रिपरिषद्बाट मोहीलाई जग्गा दिने निर्णय गराइएको थियो । नक्कली मोहीको नाममा दर्ता भएको केही दिनमै सो जग्गा सुवेदी र शोभाकान्त ढकालको नाममा लगिएको थियो ।

सिआइबीले कर्मचारी, बिचौलिया, मोही तथा जग्गाधनी गरी करिब डेढ सय व्यक्तिसँग बयान लिइसकेको छ । प्रकरणमा जोडिएका सबैसँग बयान लिएर ब्युरोले सरकारलाई प्रतिवेदन बुझाउन लागेको छ । छानबिनका लागि ब्युरोलाई सरकारले दिएको म्याद सोमबार सकिँदै छ । तोकिएको म्यादभित्रै प्रतिवेदन बुझाउने तयारी भइरहेको ब्युरोका निर्देशक डिआइजी निरज शाहीले बताए ।

यस्तै, सरकारले अधिग्रहण गरेको जग्गा नक्कली कागजपत्र बनाएर फिर्ता गरी बिक्री गर्दा कर्मचारीलाई मात्र २० रोपनी जग्गा घुस दिएको अख्तियारको अनुसन्धानले देखाएको छ । मालपोतका कर्मचारीदेखि सिडिओसम्मले यसरी बालुवाटारकै जग्गा घुसबापत लिएका हुन् । राणा परिवारबाट कर्मचारीहरूले ‘बकस’बापत आफन्तको नाममा जग्गा लिएको छानबिनबाट खुलेको हो । राणा परिवारबाट बकसका नाममा कर्मचारीका आफन्तको नाममा आएको जग्गालाई अनुसन्धानले ‘घुस’ भएको ठहर गरेको छ । मालपोतका कर्मचारी युद्धबहादुर श्रेष्ठ, पूर्वनिर्वाचन आयुक्तसमेत रहेका सुधीर शाह, जमरजंग कम्पनीका विनोदकुमार पौडेललगायतले घुसबापत जग्गा नै लिएका हुन् ।

‘जसले जग्गा लिएका छन्, उनीहरूको राणा परिवारसँग कुनै चिनजान छैन,’ अनुसन्धानमा आबद्ध अख्तियारका एक अधिकारीले भने, ‘चिनजान नै नभएको व्यक्तिले कसरी दिन सम्भव छ ।’ त्यसरी जग्गा लिने सबैलाई अख्तियार र सिआइबीले बयानमा बोलाएका थिए । बयानका क्रममा उनीहरूले कतिपय चिनजान भएको भनेर ढाँट्ने प्रयास गरेको र केहीले खरिद गरेको बताएका छन् । पूर्वनिर्वाचन आयुक्त शाहकी श्रीमती उर्मिलाले राणा परिवारसँग आफूले त्यो जग्गा खरिद गरेको बयान दिएकी छिन् । शाह मालपोतमा उपसचिव हुँदा सो जग्गा श्रीमतीको नाममा गएको थियो ।

मालपोतका कर्मचारी युद्धबहादुर श्रेष्ठले श्रीमती र बहिनीको नाममा बकस लिएको स्रोत बताउँछ । एक सय १२ रोपनी जग्गा राणा परिवारको नाममा दर्ता गराउने क्रममा सहयोग गरेर कर्मचारीले घुसबापत जग्गा नै लिएका हुन् । कतिपयले कर्मचारीले सो प्रकरण बाहिर ल्याइदिने र मोहीलाई उचाल्ने भनेर राणा परिवारलाई ब्लाकमेलिङ गरेरसमेत जग्गा लिएको खुलेको छ । पूर्वसिडिओ गेहनाथकी श्रीमती भुवनकुमारीको नाममा समेत जग्गा बकस दिएको छानबिनमा खुलेको छ ।

राणा परिवारबाट बकसका नाममा कर्मचारीका आफन्तको नाममा आएको जग्गालाई अनुसन्धानले ‘घुस’ भएको ठहर गरेको छ । मालपोतका कर्मचारी युद्धबहादुर श्रेष्ठ, पूर्वनिर्वाचन आयुक्तसमेत रहेका सुधीर शाह, जमरजंग कम्पनीका विनोदकुमार पौडेललगायतले घुसबापत जग्गा नै लिएका हुन् ।

सरकारले पञ्चायतकालमा राजनीतिक कारणले जफत भएका जग्गा फिर्ता गर्ने निर्णय ०४७ मा गरेको थियो । तर, अधिग्रहण गरिएको जग्गालाई समेत जफत गरिएको भनेर व्याख्या गरी कांग्रेस नेता सुवर्ण शमशेर राणाबाट अधिग्रहण गरिएको एक सय १२ रोपनी जग्गा फिर्ता गरिएको थियो । त्यससम्बन्धी फाइल नै कर्मचारीहरूले गायब बनाएका छन् ।

०४९ मा गलत व्याख्या गरी राणा परिवारलाई जग्गा दिँदा कलाधार देउवा मालपोत कार्यालयका प्रमुख थिए । ०६७ मा गुठीको जग्गा व्यक्तिको नाममा दाखिला खारेज गर्दा हरिकृष्ण तिमिल्सिना डिल्लीबजार मालपोतका प्रमुख थिए । ०६२ मा छुट दर्ताका नाममा थप जग्गा राणा परिवारलाई दिँदा टीकाराम घिमिरे, हुपेन्द्र केसी, मोहमद साविर हुसेन, श्रीहरी पुडासैनी, श्यामकुमार क्षेत्रीलगायतको संलग्नता देखिएको थियो । यो प्रकरणमा समरजंग कम्पनीका प्रमुखहरू अर्जुन भण्डारी, चिरञ्जीवी अधिकारी, लोकहरि घिमिरे, रमेश पोखरेललगायतले समेत भूमाफियालाई नै साथ दिएका थिए ।

नक्कली मोही खडा गरेर, प्रधानमन्त्री निवास विस्तार तथा छुट जग्गा दर्ताको नाममा समेत बालुवाटारस्थित थप जग्गा हिनामिना भएको थियो । यसको योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले गत वर्ष चैतमा यससम्बन्धी प्रारम्भिक रिपोर्ट बुझाएर थप छानबिनको सिफारिस गरेको थियो । सोहीअनुसार अख्तियार र सिआइबी दुवैले अनुसन्धान टुंग्याएर मुद्दा दायरको तयारी गरेका छन् । मुद्दा दायरमा जग्गाधनीलाई समेत प्रतिवादी बनाउन लागिएको छ । कम्तीमा दुई तहसम्मको जग्गाधनीलाई मुद्दा चलाउने अख्तियारको तयारी छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्