बालुवाटार जग्गा प्रकरण : राजनीतिक नेतृत्वलाई जोगाएर मुद्दा दायरको तयारी


 


काठमाडौं, पुस २८
बालुवाटार जग्गा प्रकरणमा अख्तियारले राजनीतिक नेतृत्वलाई जोगाएर मुद्दा लैजाने तयारी गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने काममा तत्कालीन उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारसमेत जोडिएका थिए ।

सरकारी जग्गा व्यक्तिको नाममा लैजाने गरी मन्त्री गच्छदारले नै मन्त्रिपरिषद्मा प्र्रस्ताव लगेका थिए । त्यही प्रस्तावलाई टेकेर मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो । तर, किर्तेमा संलग्न कर्मचारी र जग्गा कारोबारीविरुद्ध मात्र मुद्दा लैजाने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले बालुवाटार जग्गा प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ । केही दिनमै विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरी तयारी आयोगको छ ।

आयोगका एक उच्च अधिकारीका अनुसार यो मुद्दामा राजनीतिक नेतृत्वविरुद्ध अभियोग दायर हुने सम्भावना न्यून छ । मन्त्रिपरिषद्का निर्णय आयोगले हेर्न नपाउने व्यवस्थाका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउन लागिएको छ ।

आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यात, भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, मुख्य विचौलियाहरू रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित एक सयभन्दा धेरैविरुद्ध मुद्दा दर्ता गर्दैछ । सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुँदा संलग्न सबै जग्गाधनीविरुद्ध मुद्दा दर्ता हुँदैछ । यस्तै, सरकारी जग्गा व्यक्तिको नाममा लैजान संलग्न नापी र मालपोतका कर्मचारी, त्यस्तो जग्गा पहिलोपटक किन्ने जग्गाधनीविरुद्ध पनि मुद्दा दर्ता हुँदैछ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति: २८ पुस २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्