भूकम्पले ध्वस्त बिपी सङ्ग्रहालय पुनः निर्माणका लागि देउवा द्धारा शिलान्यास


 


bp

काठमाडौँ,  भदौ २४  गत वर्ष वैशाख १२ गतेको भूकम्पले भत्किएको बिपी सङ्ग्रहालय पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ ।

सुन्दरीजलस्थित सङ्ग्रहालय प्राङ्गणमा १०३औँ बिपी जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भवनको शिलान्यास गर्दै पुरानै स्वरुपमा निर्माण गरिनुपर्ने बताउनुभयो ।

“नेपाली राजनीतिका आदर्श व्यक्तित्व एवम् साहित्यका शिखर व्यक्तित्व कोइराला १० वर्ष बन्दी बनाइनुभएको यो स्थल अहिले सङ्ग्रहालय बनेको छ, यो स्थल भावी पुस्ताका लागि पनि दर्शनीय बनाउन पहिलेकै स्वरुपमा निर्माण गरिनुपर्छ” – उहाँले भन्नुभयो ।

बिपीसँगै सुन्दरीजलमा बन्दी बनाइनुभएका सबै नेताको नाममा सालिक निर्माण गरी उहाँहरुको जीवनका महत्वपूर्ण चिजबिज सङ्ग्रहालयमा सङ्ग्रह गरिनुपर्नेमा पनि सभापति देउवाले जोड दिनुभयो ।

कार्यक्रममा काँग्रेस कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले देशमा शान्ति स्थापना नभएसम्म जनताको मानसिक परिवर्तन नहुने भएकाले राष्ट्र शान्तिका लागि सबैको सहयोगको आवश्यकता औँल्याउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरिएका संरचना निर्माण तोकिएको समयमा नहुने परम्परालाई तोड्दै सङ्ग्रहालय २०७५ असार मसान्तमा सक्न पुरातत्व विभागलाई निर्देशन दिनुभयो ।

“पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि सहयोग जुटाउन काँग्रेसले अपहरण गरेको हवाई जहाजका पार्टपुर्जा जोडी अवलोकनका लागि सङ्ग्रहालयमा राखिनुपर्छ, यसका लागि मन्त्रालय र विभागले आवश्यक सहयोग गर्नेछ” – उहाँले भन्नुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्ग्रहालयको पुनःनिर्माण एवम् नवनिर्माणका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

विभागका महानिर्देशक भेषनारायण दाहालले सङ्ग्रहालयलाई पुरानै स्वरुपमा निर्माणका लागि रु तीन करोड १५ लाख र अपहरण गरिएको जहाजको पार्टपुर्जा जोडेर अवलोकनयोग्य बनाउन रु चार करोड ७९ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तारिणदत्त चटौत, पूर्व सांसद पुरुषोत्तम बस्नेत, सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, महासमिति सदस्य विमल ठकुरी र नेपाल तरुण ३ नं क्षेत्रीय अध्यक्ष सञ्जय लामाले बिपी सङ्ग्रहालयको पुनःनिर्माण बन्दीगृहको स्वरुप नबिगारी गरिनुपर्नेमा जोड दिनुभयो ।

बिपी जयन्तीकै अवसरमा आज प्रजातान्त्रिक विचार समाज र बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री सुरेश मल्लले विचारप्रधान राजनीतिलाई प्रोत्साहन दिने नीतिलाई सबैले अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले बिपी विचारलाई कार्यान्वयन गर्नसके गरिबीको रेखामुनि रहेका जनताले मध्यमस्तरको जीवनयापन गर्न सक्ने बताउनुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले बिपीको विचार पालना गर्न उपदेश दिने तर आफैँ कार्यान्वयन नगर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्नेतर्फ सचेत गराउनुभयो ।

कार्यक्रममा इन्जिनियर सरोज देवकोटा र समाजका महासचिव गोकर्ण अर्याललगायत वक्ताले बिपी विचारलाई जीवनपद्धति बनाइनुपर्नेमा जोड दिनुभयो ।

बिपी जयन्तीकै अवसरमा बिपी स्मृति अस्पताल धापासीमा उपचार गराइरहनुभएका बिरामीलाई फलफूल वितरण गरिएको थियो । रासस

प्रकाशित मिति: २४ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्