बिहेको कार्ड छपाउँदा प्रहरीले लगायो यस्तो नियम


 


सल्यान, माघ ४
सल्यानका छापाखानाका संचालकहरूले बालबिवाहलाई कम गराउन सामुहिक प्रयास थालेका छन् । बिवाहमा छापिने कार्डमा २० बर्षभन्दा कम उमेर भएमा कार्ड छपाइ रोक्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले बिहेको निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य माग्ने प्रतिबद्धता जनाएका हुन् ।

बालविवाह रोक्न प्रहरीले थालेको अभियानमा यहाँ रहेका छापाखाना तथा अफसेट प्रेस सञ्चालकले सहयोग पुर्याउन निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य बनाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानमा भेला भएका प्रेस तथा छापाखानाका सञ्चालकले कार्ड छपाईमा जन्म दर्ता अनिवार्य गर्ने प्रतिवद्धता गरेका हुन् ।

‘बाल विवाह सामाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक छ’ शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले बताए। उनका अनुसार बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधुको तर्फवाट कार्ड छपाई हुने गरेको छ । यदि केटा केटीको उमेर २० वर्ष मुनी भए कार्ड छापिने छैन ।

उमेर नपुग्दै हुने बिवाहले सामाजिक, आर्थिक क्षेत्रमा असर पु¥याएको छ । यसलाई न्यूनीकरण गर्न सकारात्मक सन्देशका लागि आफूहररूले प्रेसमा बिहेका निम्तो कार्ड छाप्नु अघि केटा र केटीको जन्म दर्ताको कागज माग्ने निणर्य गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दिपज्योति छापाखाना सञ्चालक दिपेश केसीले जानकारी दिए। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्