पेस्तोल देखाएर नदी दोहन!


 


जनकपुरधाम , माघ ४
राजनीतिक दल र नेताकै संरक्षणमा चुरेमा क्रसर डनको बिगबिगी छ। डनहरूको कब्जामा चुरे परेको छ। मधेसको जीवन संकटमा पर्दै गएकाले पूर्वराष्ट्रपति डा.रामवरण यादव चिन्तित छन्, चुरे बचाउन सबैसँग हरेक मञ्चमा आग्रह गर्छन्।

खोलाको अवैध उत्खनन रोक्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीप (ओमप्रकाश) महतोको क्रसर डनले २५ पुस ०७५ मा हत्या गरे। उनको हत्यापछि नदी–खोला डनको कर्तुत एकपछि अर्को बाहिर आइरहेको छ। बटेश्वर गाउँपालिका–१ का मनोजकुमार कुश्वाहा हतियारको बलमा बडहरी खोलामा बालुवा, गिट्टी उत्खनन गर्दै आएका थिए। अवैध उत्खननविरुद्ध बोल्दा मारिदिने धम्की दिँदै आएका थिए। २५ जेठ ०७६ मा खोला उत्खनन गर्न गएका उनको साथबाट प्रहरीले स्वचालित पेस्तोल बरामद गर्‍यो। त्यसपछि उनको कर्तुत छताछुल्ल भयो। प्रहरीले मनोजलाई समातेर हातहतियार तथा खरखजाना मुद्दामा उनी कराकारमा छन्।

हतियार लिएरै नदी उत्खनन गर्ने मनोजको न कुनै क्रसर उद्योग छ न त उनी ठेकेदार नै हुन्। स्थानीयका अनुसार ठेकेदारले उनलाई नदीजन्य पदार्थ चाहिएको भन्नेबित्तिकै उनी टिपर र स्काभेटर भाडामा लिएरै उत्खनन गर्ने गर्थे। हतियारसहित पक्राउ पर्नुअघि उनी डकैतीमा पनि मुछिएको प्रहरीले जनाएको छ।

सर्लाहीस्थित बाँके खोलामा क्रसरवालाले अवैध रूपमा बालुवा–गिट्टी झिकेर ठूलो खाडल बनायो। त्यसमा जमेको पानीमा डुबेर ईश्वरपुर नगरपालिका–१३ का १२ वर्षीय अमित रायको मृत्यु भयो। क्रसरवालाको ज्यादतीविरुद्ध स्थानीयले राजमार्ग सडक बन्द गराएका थिए। प्रहरी सडक खुलाउन गोली चलाएपछि २७ वर्षीय केवल महतोको ज्यान गयो।

प्रहरीले चुरेका खोला नालामा हुने अवैध उत्खननमा नियममा असहयोग गर्ने गरेको सरोकारवाला बताउँछन्। प्रदेश–२ का बासिन्दाले चुरे दोहन भएको भन्दै चिन्ता व्यक्त गर्दै ४ माघ, ०७५ मा भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री जितेन्द्र सोनलाई मन्त्रालयमै पुगेर चुरे संरक्षण गर्न ध्यानाकर्षण गराएका थिए।

स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश–२ का भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनलले चुरेप्रति सरकार गम्भीर रहेको बताएका थिए। तर, उनको त्यो गम्भीरता व्यवहारमा देखिएन। प्रदेश–२ का प्रदेश संसदीय समितिले स्थलगत अनुगमन गर्दा पनि त्यसको प्रभाव छैन।

प्रहरीको साँठगाँठमा अवैध उत्खनन

तस्करले सरकारका निकाय, प्रहरी प्रशासन, कुण्डलेमुण्डलेलाई मासिक नजराना दिएर ढुंगा, बालुवा, गिट्टी ओसार्न सेटिङ मिलाइदिन्छ। गैरकानुनी काम रोक्न तैनाथ प्रशासन तस्करीका लागि बाटो खुला गर्छन्।

‘प्रहरीको आँखाअगाडि अवैध खोला उत्खनन भइरहेको हुन्छ। स्थानीयले प्रहरीलाई खबर गर्छन्, प्रहरी बाटोमै हुँदा टिपर, लोडर खोलाबाट भगाइन्छ, तस्करलाई प्रहरी आउँदै छ भन्ने कसरी थाहा हुन्छ ? ’ प्रदेशसभा सदस्य शुत्रधन महतोले भने, ‘क्रसरमा नेता, सांसद, मन्त्रीको लगानी छ, तस्करले प्रहरीलाई पहिला किन्छ।’

दोहनले संकटग्रस्त बन्दै मधेस

चुरेभावर क्षेत्रमा चैतदेखि असारसम्मा खानेपानीको चरम अभाव हुन्छ। चुरेको अवैज्ञानिक उत्खननले खानेपानीको स्रोत मासिँदै गएको छ। साउन लाग्नेबित्तिकै चुरेको खहर खोलामा ठूलो बाढी आउँछ। जथाभावी नदी पदार्थ झिक्दा खोलाले बग्ने बहाव फेर्छ। तराई ३६ जिल्लामा एक ६४ वटा खोला छन्। अनियन्त्रित दोहनले प्रत्येक वर्ष ३ हजार ९ सय बिघा खेतीयोग्य जमिन बाढीले कटान गरेर मरुभूमि बनाउँदै आएको छ। प्रदेश २ मा दोहन बढेपछि चुरेभावर संकटमा परेको छ। विशेषगरी महोत्तरी, धनुषा, सिरहालगायत तराई मधेसका भावर क्षेत्र कुरूप बन्न थालेको सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सुनाए।

चुरेको भावर क्षेत्र उत्खननले झनै असुरक्षित बनेको छ। महोत्तरीको बर्दिबास, भंगहा, गौशाला र धनुषाको मिथिला नगरपालिका ढल्केबर क्षेत्रमा प्रदेशकै सबैभन्दा बढी अवैध क्रसर सञ्चालित छन्। चुरेविद् डा. विजय सिंहले भने, ‘चुरेको दक्षिणी भागको करिब १० किमि क्षेत्रमा भार पर्छ। जुन पूर्णरूपमा चुरेको अतिसंवेदनशील एरिया हो।’

सञ्चारकर्मी र कमैले चुरिया संरक्षण र यसको विषयमा बोल्ने, लेख्ने र बहस गर्ने हिम्मत राख्ने गरेको महोत्तरीको बर्दिबासका कांग्रेस नेता महेश झा बताउँछन्। ‘तस्करविरुद्ध बोल्नेको जुनसुकै बेला ज्यानको खतरा छ। कतिखेर चुरे माफियाले कहाँ, कसबाट के ? गराइदिन्छ त्यसको ठेगान छैन,’ उनले भने।

नेपालको कुल क्षेत्रफलमध्ये १२ दशमलव ७८ प्रतिशत चुरे पहाड पर्छ। ‘चुरे गेग्य्रानले बनेको कमलो कान्छो पहाड हो। चुरेको अवैज्ञानिक दोहन बढ्दै गए मधेस मरुभूमिमा परिणत हुन सक्छ’, चुरे–तराई अन्तरसम्बन्धका जानकार डा. विजयकुमार सिंहले भने।

कानुन मान्दैनन् क्रसर उद्योग

प्रदेश २ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन, क्रस·, बिक्रीवितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालन व्यवस्थित गर्ने कार्यविधि’ २०७५ स्वीकृत गरेर मापदण्ड तोकेको छ। तर, अधिकांश उद्योग मापदण्ड पूरा नगरी सञ्चालित छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले खोला उत्खननमा प्रहरी प्रशासनले चलखेल गरेको बताएका छन्। ‘म आफंै खोलामा अनुगमन गर्न पुग्दा स्थानीय प्रहरी प्रशासन नै अवैध उत्खननको चलखेलमा लागेको भेटियो,’ उनले भने, ‘चुरे दोहनमा सक्रिय तस्करको जाल एकदमै माथिल्लो तहसम्म छ, नत्र यति ठूलो आँट गरी मान्छे हत्या हुन्छ ? ’ चुरे संरक्षण गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए।अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्