अन्नपूर्ण पदमार्गमा ११ जना सम्पर्कविहीन, हिउँले पुरिएको आशंका


 


काठमाडौं, माघ ५
अन्नपूर्ण पदयात्राका लागि गएका आठ विदेशी पर्यटक र तीन नेपाली गरी ११ जना शनिबारसम्म भेटिएका छैनन् । सम्पर्कविहीन हुनेमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् ।

यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन छन् । खराब मौसमका कारण उनीहरूसँग सञ्चार सम्पर्कसमेत हुन सकेको छैन । शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए ।

माथिको मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् । पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले जानकारी दिए ।

सम्पर्कविहीन भएकाको खोजीका लागि शनिबार चारवटा हेलिकोप्टर प्रयोग गरिएको थियो । उनीहरू हराएको भनी शंका गरिएको स्थान धेरै ठूलो नभए पनि केही पत्ता नलागेको अन्नपूर्ण गाँउपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । ‘आधा घन्टाभन्दा बढी चारवटा हेलिकोप्टरबाट हिंकु वरिपरिको क्षेत्रमा खेजी गर्दा केही पनि पत्ता लागेन,’ उनले भने ।

उनीहरूको उद्धारका लागि पैदल गएको ६ जनाको टोली खराब मौसमका कारण दोभानदेखि माथि जान नसकेको टोलीमा रहेका विजय गुरुङले जानकारी दिए ।अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले केही दिनदेखि परेको वर्षासँगैको हिमपातका कारण हराएकाको खोजीमा समस्या भएको जानकारी दिए ।

हिंकु भन्ने स्थान खोल्सा रहेको र सोही खोल्सामा माथिबाट आएको हिमपहिरोले उनीहरूलाई पुरेको आशंका छ । देउरालीबाट दोभान आउने क्रममा उनीहरू नआएपछि स्थानीयले खोजीकार्य सुरु गरेका थिए । सो स्थानमा बर्सेनि माथिबाट हिमपहिरो जाने गरेको छ ।

अलपत्र परेकाको उद्धार
पदयात्रामा जाने र खराब मौसमका कारण विभिन्न स्थानमा अलपत्र परेका एक सय ४१ जनाको शनिबार उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लबको पहलमा उनीहरूलाई उद्धार गरिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए ।

उनका अनुसार सातजनालाई अन्नपूर्ण आधार शिविर, १२० जनालाई माछापुच्छ«े आधार शिविर र देउरालीबाट १४ जनालाई उद्धार गरिएको हो । चारवटा हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरी छोम्रोङ ल्याइएको उनले बताए । छोम्रोङ ल्याइएकामध्ये केही पर्यटक पैदलमार्फत पोखरा झर्न सुरु गरेका छन् ।

उद्धार गरिएकाहरू अधिकांश विदेशी र केही नेपाली पर्यटक छन् । माथिल्लो भागमा जमेको हिउँ नपग्लेसम्म केही दिनका लागि देउरालीदेखि माथि पर्यटकलाई जान नदिने र अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडानसमेत बन्द गर्ने विषयमा समितिले छलफल थालेको सचिव गुरुङले जानकारी दिए ।

सञ्चार सेवा अवरुद्ध हुँदा समस्या

शान्ता कमली,लमजुङ
अन्नपूर्ण पदयात्रामा गएका चार चिनियाँ पर्यटक मनाङमा सम्पर्कविहीन भएका छन् । थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरू बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्कमा आउन नसकेको प्रहरीको भनाइ छ ।

सम्पर्कविहीन चारमध्ये दुई महिला र दुई पुरुष छन् । पासपोर्ट नम्बर इजी ११२९६२ भएकी ह्वाङ यिविन, इओ ५२५६४८० पासपोर्ट नम्बरकी छाथ स्याउ थिङ, इसी ३४६७१० पासपोर्ट नम्बरका मा छ्यानली र ई ६६८७००५ पासपोर्ट नम्बरका आनत चात हराइरहेको सहायक प्रजिअ आचार्यले बताए ।

मनाङ निस्याङ गाउँपालिका–९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० चेकपोस्टमा २७ पुसमा अनुमति लिएका उनीहरू हालसम्म थोरङ भन्ज्याङ नकटेको र सम्पर्कमा नआएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद आचार्यले बताए ।

‘मनाङको सदरमुकाम चामेमा आठ दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ,जसले गर्दा सम्पर्कविहीन पर्यटकहरू कहाँ छन् भन्नेबारे जानकारी छैन, उनीहरू सम्पर्कमा आउन सकेका छैनन्,’ उनले भने । उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी दीपक रेग्मीले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्