‘टिकट वितरणमा आर्थिक चलखेल भयो, बागी उम्मेदवार मुल प्रवाहमा फर्किनुस्’


 


काठमाडौं, वैशाख १४
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा आफूसँग असहमत भएकाहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै डा. कोइरालाले कयौं नेता कार्यकर्तालाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेक जालझेल मुद्दामा फसाएर राजनीतिक हत्या गर्ने षडयन्त्र भएको आरोप लगाएका हुन् । उनले पार्टीभित्र रहेका यस्ता गलत कार्यहरूको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।

टिकट वितरणमा पार्टीले न्याय गर्न नसक्दा जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य-पद्धति र आदर्शप्रति समर्पित नेता कार्यकर्ता अन्य पार्टीमा ओत लाग्न पुगेको उनको भनाइ छ । स्वतन्त्र उमेदवारको रूपमा चुनावी मैदानमा जान बाध्य नेता कार्यकर्तालाई उनले कांग्रेसको मुल प्रवाहमा फर्किन आग्रह गरेका छन् ।

‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्’, विज्ञप्तिमा उल्लेख छ ।

‘सबैभन्दा दुःखको कुरा त आफुसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्,’ उनले भनेका छन्,‘पार्टीभित्र रहेका यस्ता गलत कार्यहरू तत्काल अन्त्य हुनुपर्छ ।’

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्