‘उद्योग क्षेत्रको सामाजिक उत्तरदायित्वको रकम खेलक्षेत्रमा लगानी गर्नुपर्छ’
काठमाडौँ, २७ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र उद्योग क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गतको एक प्रतिशत रकम देखिने गरेर खेलकुद क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला क्रिकेट सङ्घ काठमाडौँले आज मूलपानीमा आयोजना गरेको पुरस्कार तथा ट्रफी वितरण कार्यक्रममा उहाँले देशका सम्पूर्ण उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्ने खर्च रकमलाई उद्योग मन्त्रालयमार्फत देखिने गरेर सरकारले व्यवस्थित बनाउने बताउनुभयो ।
नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनापछि नेपालको क्रिकेट क्षेत्रले फड्को मारेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री भण्डारीले उद्योग क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्ने रकमलाई विशेषतः क्रिकेट क्षेत्रमा लगाउन उद्योग मन्त्रालयले कार्यविधि नै बनाएर काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले केन्द्र सरकारले चाहेर मात्र खेलकुदका संरचना निर्माण गर्न नसकिने जनाउँदै त्यसका लागि प्रदेश र स्थानीय सरकारको पनि समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । देशका केही स्थानमा बनाइने संरचनाले मात्र खेलकुद क्षेत्रको विकास हुन नसक्ने भएकाले स्थानीय तहदेखि नै खेल संरचना बनाइनुपर्नेमा उहाँको जोड थियो ।
वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै काठमाडौँमा एउटा अत्याधुनिक रङ्गशाला बनाउने निर्णय गरेको स्मरण गर्दै मन्त्री भण्डारीले एउटा मात्र अत्याधुनिक स्टेडियमले खेल संरचना बनाएर नहुने भएकाले सबै तहमा खेल संरचना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले नेपाली क्रिकेटलाई रहरलाग्दो र भरपर्दो बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला क्रिकेट सङ्घ काठमाडौँले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट, पुरुषतर्फको छनोट प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई मन्त्री भण्डारीले ट्रफी तथा पुरस्कार वितरण गर्नुभयो ।
त्यस कार्यक्रममा नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कालगायतको सहभागिता रहेको थियो । आयोजकका अनुसार आज सम्पन्न उक्त प्रतियोगितामा काठमाडौँका १४ खेलाडी टोलीको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार
















