सिंगापुर विरुद्ध ऐतिहासिक जित
काठमाडौं ८ चैत । नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।
सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुरलाई १–० ले पराजित गरेको हो ।
नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन् ।
सिंगापुरले अन्तिमतिर लगातार आक्रमण गरे पनि नेपाली डिफेन्स र कप्तान तथा गोलकिपर किरणले बचाएका थिए ।
एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले तयारी स्वरुप सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल खेलेको हो । फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई यसअघि नेपालले हराउन सकेको थिएन ।
नेपालले अब एसियन कप छनोटमा मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।
प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार
















