मोबाइल व्यवसायले देशको अर्थतन्त्रलाई चलायमान बनाएको छ : सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मोबाइल व्यवसायले आर्थिकरूपमा देशलाई चलायमान बनाउने काम मात्र नगरेर सामाजिक पुलको रूपमा सम्बन्ध जोडिदिने काम गरिरहेको बताउनु भएको छ।
नेपाल मोबाइल व्यवसायी सङ्घ काठमाडौँको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको शनिबार काठमाडौँमा उद्घाटन गर्दै मन्त्री खरेलले देशमा मोबाइल व्यवसायमा लाखौं युवा जेनजी आबद्ध भएको र लाखौं युवालाई देशमै रोजगारी सिर्जना गरेको मोबाइल व्यवसायीका समस्या सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भयो।
“तपाईं व्यवसायीहरूले मोबाइल व्यवसाय मात्र गर्नु भएको छैन, समाजलाई परिवारलाई जोड्ने काम पनि गरिरहनु भएको छ, आमा बुवालाई छोराछोरीसँग कुरा गर्न तपाईंहरूले सिकाइरहनु भएको छ”,सञ्चारमन्त्री खरेलले भन्नुभयो।
उहाँले मोबाइल व्यवसायमार्फत् लाखौं युवा जेनजीलाई देशमै रोजगारी सिर्जना गरिरहेको भन्दै व्यवसायीका समस्यालाई सम्बोधन गर्न पहल गर्ने विश्वास व्यक्त गर्नुभयो।
सञ्चारमन्त्री खरेलले एमडिएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको भन्दै जालो च्यातरेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो। मुलुकले परिवर्तन मागेको बताउँदै उहाँले दिनहुँ दुई हजार भन्दा बढी जेनजी युवा विदेश गइरहेको अवस्थालाई सबै मिलेर रोक्नु पर्ने उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो,“यो मुलुक किन बनेन भने राम्रो होइन, हाम्रो मान्छे खोजियो, व्यक्ति गुट स्वार्थ र आफ्ना मान्छे हेर्ने कारण देश नबनेको हो, अब अति भयो, भोट हाल्दा सोचौं, एक पटक खराब उम्मेदवारलाई भोट हालेर पाँच वर्ष पछुतो मान्ने अवस्था नहोस्।”
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार
















