विश्वकप क्रिकेट छनोटका लागि नेपाल आज म्यानमारबिरुद्ध खेल्दै


 


काठमाण्डौँ, असोज १७

अस्ट्रेलियामा दुई वर्षपछि हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज म्यानमारविरुद्ध खेल्दैछ ।

तुलनात्मक रुपमा कमजोर म्यानमारविरुद्ध नेपालले आज मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपाली समय अनुसार दिउँसो १२ः१५ मा खेल्नेछ । आक्रामक ब्याट्सम्यान प्रदीप ऐरीले तीन वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । तथापी उनीे म्यानमारविरुद्ध ११ जनाभित्र पर्ने सम्भावना कम छ । एसिया कप छनोट प्रतियोगितामा टोलीमा परेका विनोद भण्डारी विकेटकिपरको भुमिकासहित टोलीमा अटाउन सक्छन् ।

एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालबाहेक आयोजक मलेसिया, चीन, म्यानमार, सिंगापूर र थाइल्यान्ड रहेका छन् । राउन्ड रोविन लिगका आधरमा हुने प्रतियोगिताको शीर्ष तीन टोलीले एसिया महादेशको छनोट प्रतियोगिता खेल्नेछ । जहाँ पश्चिमी क्षेत्रबाट युनाइटेड अरब इमिरेट्स (युएई), कतार र कुवेत छनोट भइसकेका छन् । एसिया महदेशको छनोट प्रतियोगिताबाट शीर्ष दुईले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्