थाइल्याण्ड एक सय ४० रनले पराजित


 


काठमाण्डौँ, असोज २१

आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९ विकेट गुमाउँदा वर्षाका कारण खेल प्रभावित भएको थियो । पानी नरोकिएपछि डक वर्थ लुइस नियम अनुसार नेपाल एक सय ४० रनले विजयी भएको हो ।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । करन केसीले तीन विकेट लिन सफल भए भने ललित राजवंशीले एक विकेट लिए ।

नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो। नेपालका लागि करण केसीले सर्वाधिक नटआउट ४० रनको योगदान गरे । मात्र १४ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए।

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो जित हो । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालार्इ ८ विकेटले पराजित गरेको थियो ।

यस सँगै नेपाल तीन खेलमा ६ अंक जोड्दै नेट रन रेटको आधारमा समुह बी को शिर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्