पीपीएलमा पोखरासँग विराटनगर ५८ रनले पराजीत


 


पोखरा, कात्तिक ९

पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनले हराएको हो। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनाएको हो ।

निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । उसका ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएपछि पोखराले पहिलो विकेट गुमायो । नयाँ पीचमा पहिलो पटक खेलेको पोखराका लागि भारतीय खेलाडी रवी इन्दोर र आशिफ शेखले ९४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

भारतीय खेलाडी रवीले आक्रामक ४४ रन बनाएर आउट हुँदा पोखराले एक सय ४७ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि तेस्रो विकेटका रुपमा आशिफ आउट भएपछि पोखराले एक सय ६० रनमा तेस्रो विकेट खेर फाल्यो । उनले ५२ रन बनाए ।

पहिलो पीपीएलको पहिलो खेलमा नै अर्धसतक बनाएका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसपछि विनोद भण्डारीले विस्फोटक ४१ रन बनाउदा पोखराले ठूलो लक्ष्य दिन सफल भयो । विनोदले ११ बलमा दुई चौका र ५ छक्का प्रहार गरे ।

जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ३९ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको विराटनगरले ३४ रन बनाउदा तीन विकेट खेर फाल्यो । १७ रनमा पहिलो विकेट गुमाएको विराटनगरले २२ रनमा दोस्रो विकेट गुमायो । उसका दुवै ओपनर प्रदीप ऐरी १० र सुनिल धमला ११ रनमा आउट भए ।

त्यसपछि क्रिजमा आएका जितेन्द्रसिंह ठकुरी पनि १० रनमा आउट हुँदा विराटनगर निकै दवावमा आयो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्डमा विराटनगरले ८८ रन जोडदा ६ विकेट गुमायो ।

राजु रिजाल ३० रनमा आउट भए भने भारतीय खेलाडी एन्र्डु सुविक्सन १४ रनमा पेभेलियन फर्किए । त्यसपछि पुष्प थापाले ३० रन जोड्दा बाँकी खेलाडी सस्तैमा आउट भए । बलिङतर्फ ललितराजवंशीले तीन विकेट लिए ।

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्