उर्लाबारीमा प्रदेशस्तरीय फुटबल सुरु


 


उर्लाबारी,  कात्तिक १२

कुलझोडा युवा क्लबको आयोजनामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा उर्लाबारी – ८ स्थित दुर्गापुरीमा आजदेखी प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा मुनाल क्लब चन्द्रगढी झापा विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ । चन्द्रगढीले विराट मेघा स्पोर्ट क्लब बिराटनगरलाई १ – ० गोल अन्तरले पराजीत गरेको हो । चन्द्रगढीको जितमा पहिलो हाफमा कर्ण लिम्बुले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । प्रतियोगिताको आजको खेलमा लिम्बु नै म्यान अफ द म्याच घोषित भएका थिए ।

यसअघि प्रतियोगिताको उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले मुख्य रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रम उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको प्रमुख आतिथ्यता तथा खेल आयोजक समितिका संयोजक कमल फ्याकको अध्यक्षतामा भएको थियो ।

आगामी १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा भोली दमक फुटवल कलब झापा र धरान फुटवल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई दुई लाख तथा द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति: १२ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्