स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि


 


काठमाडौँ, कात्तिक ३०

चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दशैँ, तिहार तथा छठका कारण स्थगित गरिएको थियो ।

लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन् । शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिनुभयो ।

पहिलो चरणको खेल सकिँदासम्म मनाङमस्र्याङ्दी, सङ्कटा, थ्रीस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै तीन/तीन अङ्क जोडेका छन् भने त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै एक/एक अङ्क जोडेका छन् । त्यसैगरी जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज हार बेहोर्दै अङ्कविहीन छन् ।

शनिबारदेखि हुने दोस्रो चरणका पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । रासस

प्रकाशित मिति: ३० कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्