ए डिभिजन लिग : मनाङको फराकिलो अग्रता


 


काठमाण्डौँ, मंसिर २४

मच्छिन्द्र क्लबलाई हराउँदै मनाङ–मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ ।

आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले मच्छिन्द्रलाई १–० ले हरायो । ७०औं मिनेटमा मनाङका अन्जन विष्टले प्रहार गरेको पेनाल्टीलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले बचाएका थिए । ८५औं मिनेटमा ‘सब्सटिच्यूट’ खेलाडी अफिज ओलावालेले गरेको गोल खेलको निर्णायक गोल बन्यो ।

जितसँगै मनाङले लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको छ । लिगअन्तर्गत आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई विजयी गराउन टंक बस्नेतले ६६औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

यी खेलहरुपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु सकिएका छन् । सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ ।

१८ अंकका साथ थ्रीस्टार क्लब र संकटा क्लब क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १७ अंक छ । नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले ११÷११ अंक जोडेका छन् ।
प्रतियोगिताअन्तर्गत आठौं चरणका खेलहरु बिहीबारदेखि हुनेछन् ।

प्रकाशित मिति: २४ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्